मुलुकको राजनीतिक परिस्थिति यस्तो बन्यो कि कांग्रेसलाई सरकारमा जानैपर्ने भयो । ५ वर्षका लागि प्रतिपक्षी भूमिकामा रहनुपर्छ भन्ने मत पार्टीमा बलियो भएपनि सत्तारुढ नेकपाको आन्तरिक कलहका कारण उत्पन्न परिस्थितिले कांग्रेसलाई सरकारमा जानुपर्ने बाध्यता आइपर्यो ।
कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरे भन्छन्, ‘ सरकारमा जाने हाम्रो चाहना होइन । जनताको म्याण्डेट पनि त्यो होइन । तर के गर्ने, देशलाई लथालिंग अवस्थामा छोड्नु पनि त भएन । कम्युनिष्टहरु आफैमा भिडेर आज मुलुकलाई संकटको चौबाटोमा ल्याएका छन् । आफू पनि छिन्नभिन्न भएका छन् । लौ न सरकार चलाइदिन पर्यो भनेर हाम्रा नेताहरुको दैलो चहारीरहेका छन् । कांग्रेस जस्तो जिम्मेवार पार्टीले संकटको बेला भाग्ने कुरा पनि त भएन नी ! ’
नेता घिमिरेका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले यो गणतान्त्रिक व्यवस्था र प्रणाली नै समाप्त गर्न खोजेका छन् । उनी अझैपनि यो प्रणालीको विरुद्धमा छन् । ओली जति बढी सत्तामा बसे त्यति नै नोक्शान हुन्छ । यीनलाई जतिसक्दो छिटो पदबाट हटाउनुपर्छ । ओलीलाई हटाउने विषयमा कांग्रेसमा कुनै अलमल छैन ।
अब सत्ता समीकरणका लागि कांग्रेसले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र जनता समाजवादी पार्टीसंग मिल्नुपर्छ । हिजोको दिनमा प्रचण्डबाट धोका खाएको भएपनि उनी गणतन्त्र विरोधी होइनन् । उनी यो प्रणालीको पक्षमा छन् । उनले राजनीतिमा धोका दिएका हुन्, व्यवस्था बदल्न खोजेका होइनन् । ओली त व्यवस्थाकै विरुद्धमा देखिए । प्रचण्ड भन्दा ओली धेरै गुना खराब पात्र हुन् । कांग्रेसले कुनैपनि हालतमा ओलीसंग समीकरण बनाउँदैन ।
पछिल्लो समय विप्लवदेखि राजासम्म अटाउने सहमतिय सरकारको कुराप्रति गुरु नकारात्मक छन् । उनी भन्छन्, ‘ यस्तो कुरा गर्ने बाबुराम र विप्लवहरु हुन् । यी दुवै पात्र गणतन्त्र विरोधी हुन् । गणतन्त्र ल्याउन यीनिहरुको कुनै भूमिका छैन । सहमतिय सरकार सुन्नमा जति राम्रो छ, व्यवहारमा त्यतिकै कठिन छ । संसद् भन्दा बाहिरबाट सरकार बनाउने कुरा कल्पना गर्नु हुँदैन । त्यो संविधानसम्मत पनि हुँदैन ।
सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवाले सकभर आफूबाहेक अरु कुनै नेतालाई प्रस्ताव गरे उत्तम हुन्छ । यसले देउवाको साख बढ्ने मात्र होइन कांग्रेस भित्र आन्तरिक एकता कायम गर्न पनि मद्दत पुग्छ । यति मात्र होइन पार्टीको आउँदो १४औं महाधिवेशनमा पनि त्याग देखाए इतिहासमा देउवाको नाम स्वर्ण अक्षरले लेखिने छ ।
विस्तृत भिडियोमा :