‘गणतन्त्र ल्याउने दलहरुले नै गणतन्त्र सिध्याउने भए । कम्युनिष्टहरु त यति भ्रष्ट भएकी अहिले आपसमै भिडेरै सकिँदैछन् । कांग्रेस पनि असफल भैसक्यो । ’
राप्रपाकी केन्द्रीय सदस्य सन्तोषी शाही ठकुरीले अनलाइन पानासंगको कुराकानीमा भनिन्, ‘ अब राप्रपाको विचार सिद्धान्त नै विकल्प हो । त्यो भनेको राजसंस्था र हिन्दु राष्ट्र हो । ’
शाहीका अनुसार अहिलेको सत्ताको झिनाझम्टीमा राप्रपा फसेको छैन । अध्यक्ष कमल थापाका शब्द स्मरण गर्दै उनले अहिलेको राजनीतिक अवस्थालाई रेफ्री बिनाको खेलको संज्ञा दिइन् । अहिले एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपाका खेलाडीहरु अनुशासनविहीन भएर मैदानमा बल हानिरहेका छन् । उनीहरुको खेल नियममा आधारित छैन । उनीहरु फउल खेलिरहेका छन् । यस्तो वितण्डामा राप्रपालाई फस्नु छैन ।
गणतन्त्रलाई मुलुक परिवर्तनको आधार भनेर खुशियाली मनाएका कम्युनिष्ट र कांग्रेसका कारण मुलुक र जनताले दुःख पाएको शाहीको भनाइ छ । २०६२÷०६३ यता मुलुकमा भ्रष्टाचार, असुरक्षा, अराजकता, बेथिती, महंगी बाहेक जनताले के पाए ? जति सुख सुविधा छ यीनै नेताहरुलाई छ । के गणतन्त्र भनेको जनताले आँशु पिएर बाँच्ने व्यवस्था हो ?
राजाको शासनकालमा केही कमीकमजोरी भएपनि मुलुक ध्वस्त पार्ने कुनै काम नभएको शाहीको बुझाइ छ । राजाले मुलुक र जनतालाई नै सर्वोपरी ठानेका थिए । त्यही अनुसारको शासन व्यवस्था थियो । तर, मुठ्ठीभरका नेताहरुले आफनो नीहित स्वार्थका कारण विदेशीको इशारामा मुलुकबाट राजसंस्थालाई हटाए । अब पाप धुरीबाट कराउँदैछ ।
राजसंस्था र हिन्दु राष्ट्र नै मुलुक विकास र समृद्धिको आधार भएकाले सबैले त्यसका लागि पहल गर्नुपर्ने उनको भनाइ छ । यसका लागि आपसमा फुटेर होइन जुटेर काम गर्न उनले सम्पूर्ण राष्ट्रवादी शक्तिहरुलाई आह्वान पनि गरिन् ।
राप्रपाको बैशाखबाट हुने महाधिवेशनपछि नयाँ उर्जाकासाथ पार्टी राष्ट्रिय राजनीतिमा उदाउने उनको विश्वास छ । यसका लागि अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले सुझबुझपूर्ण ढंगले काम गरिरहेका उनी बताउँछिन् ।
शाही मिसेज बिउटी क्विन २०२० की विजेतासमेत हुन् ।
विस्तृत भिडियोमा :