साध्यबहादुर भण्डारी नेपाली राजनीतिमा बौद्धिक नेताका रुपमा परिचित छन् । संविधान, नागरिकता, जलश्रोत लगायत कुनैपनि राष्ट्रिय मुद्दामा उनी तथ्यगत बहस गर्छन् । उनै भण्डारी अहिले नेकपा एमालेमा प्रधानमन्त्री केपी शर्मा ओलीको निकटतस्थ भएर काम गरिरहेका छन् ।
सर्वोच्च अदालतको फैसलासंगै एमाले र माओवादी केन्द्र व्युँतिएपछि भण्डारी ओलीसंगै रहे । अहिले पनि एमाले भित्रको किचलोमा उनी ओलीसंगै छन् । सरकारका बृहत योजना निर्माण र तिनको अध्ययन गर्ने मध्ये उनी पनि एक हुन् । कतिपय अवस्थामा निजीस्तरमा परियोजनाको अध्ययन गरी सरकारलाई सुझावसमेत दिने गरेका छन् ।
भण्डारीका अनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नहर बनाउने योजनाको अध्ययन पूरा भएको छ । कर्णालीबारे भारतीय कम्पनी ‘जीएमआर’ संगको सम्झौता रद्द भएको भोलिपल्टबाट नहर निर्माणको काम सुरु हुने उनी बताउँछन् । सो सम्झौता रद्द गर्न सरकारलाई सबैले सुझावसहित दबाब दिनुपर्ने उनको भनाइ छ ।
मेचीदेखि महाकालीसम्म ९३८ किलोमिटरकोे नहर बनाउने योजना छ । भण्डारीका अनुसार सो नहर बनाउन ४५० अर्ब रुपैयाँ लाग्ने छ । मेची, कोशी, कमला, बागमती, कर्णाली, राप्ती लगायतका नदीहरु एउटै भंगालोमा मिसाएर चुरेको क्षेत्र हुँदै नहर बनाइने छ । महाकाली, गण्डकी लगायतका नदीको पानी भारतसंगको सम्झौताका कारण प्रयोग गर्न सकिने छैन । यसो गर्दा तराईंका जिल्लामा सिंचाइको पर्याप्त सुविधा पुग्नेछ । यसले मुलुकको आर्थिक बृद्धि ह्वात्तै बढाउने छ ।
भण्डारीका अनुसार सो नहरमा पानी जहाज पनि चलाउन सकिनेछ । यस्तै, सोही मार्ग भएर रेल सेवा पनि विस्तार गरिनेछ । यो सबै कुरामा न्यूनतम खर्च लाग्ने भण्डारी बताउँछन् ।
भण्डारी भन्छन्, ‘ओली विकास र समृद्धिका लागि प्रतिबद्ध छन् । चीनसंग पारवहन, यातायात र इन्धन सम्झौता गरेर उनले भारतलाई चुनौती दिए । भोलिको दिनमा भारतले फेरि नाकाबन्दी लगाए चीनतर्फको ढोका खोलेका छन् । यो सबैले प्रशंसा गर्नुपर्ने कुरा हो । ’
प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचका समस्या समाधान गर्न ‘ईपीजी’ गठन गरेको र त्यसको प्रतिवेदन चाँडै सार्वजनिक हुने भण्डारीको विश्वास छ । ईपीजीको प्रतिवेदनमा लिम्पियाधुरालाई नेपालको सीमा क्षेत्र किटान गरिएको छ । १९५० को सन्धी खारेज गर्नुपर्ने उल्लेख छ । दुई देशबीच सरल भीसाको प्रस्ताव छ । यी कुरा नेपालको हितमा छन् । यस्ता काम गर्ने प्रधानमन्त्रीलाई पुष्पकमल दाहाल र माधव नेपालले देखि नसक्ने कारण के ?
भण्डारीका अनुसार नेपालको संविधानमा देश विघटन अर्थात मुलुक सिक्किमीकरण र फिजिकरणतर्फ जाने थुप्रै राष्ट्रघाती बुँदा छन् । तिनलाई संशोधन गर्नुपर्छ तर जनता समाजवादी पार्टीले भने जस्तो संशोधन गर्न सकिँदैन ।
विस्तृत यो भिडियोमा छ :