जन्मदेव जैसी नेपाल पत्रकार महासंघका जुझारु नेता हुन् । आफनो तीन बर्षे कार्यकालमा श्रमजीवि पत्रकार पक्षमा काम गरेर उनले आफनो क्षमता प्रमाणित गरिसकेका छन् । उनै जैसी अहिले खुल्ला प्रतिस्पर्धामा सचिव पदको उम्मेदवार बनेका छन् ।
आफनो जितप्रति ढुक्क रहेका जैसी पत्रकारहरुको चुनावमा दलीय प्रभावबाट गठवन्धन बन्नु दुःखद भएको बताउँछन् । बिपुल पोखरेल र निर्मला शर्माको गठबन्धनका उम्मेदवारको चयन नेताहरुको निवासमा भएको उनको दावी छ । गठबन्धनमा पत्रकारको पेशागत सुरक्षाका लागि काम गरेका उम्मेदवारहरु पनि भएकाले मतदाताले उनीहरुको पहिचान गरी मत दिनुपर्ने उनी बताउँछन् ।
जैसी भन्छन्– ‘हामी कुनै दलबाट छानिएका उम्मेदवार होइनौं । पत्रकारहरुको खास आधिकारिक उम्मेदवार भनेको हामी हौं । यसकारण मतदाता साथीहरुले विवेकपूर्ण ढंगले उम्मेदवारको पृष्ठभूमि, उसले गरेका काम, उसको इमान र प्रतिवद्धता हेरेर मात्रै मत दिनुपर्छ । अहिले पत्रकार महासंघको नाम देखाएर बाहिर अरु नै धन्दा गर्नेहरुको उम्मेदवारी बढी देखिन्छ । मैसंग प्रतिस्पर्धा गर्नेहरु पनि त्यो सूचीमा छन् । मतदाता साथीहरुलाई म यो कुरामा ध्यान पुर्याउन आग्रह गर्छु ।’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजिवी पत्रकारहरुको पेशागत सुरक्षा, ट्रेड युनियन अधिकार र व्यवस्थित तथा व्यावसायिक पत्रकार महासंघ आफ्ना प्रमुख मुद्दा रहेको जैसी बताउँछन् ।
देशभरका पत्रकारहरुले आफूप्रति निकै भरोसा गरेकाले यसपटकको निर्वाचनमा सचिवमा आफू चयन हुने उनको दावी छ । नीतिगत निर्णय र त्यसको कार्यान्वयन गर्न जिम्मेवार पदाधिकारी महासंघको आवश्यकता भएको र त्यसका लागि आफू उपयुक्त पात्र भएको उनी बताउँछन् ।
विस्तृत भिडियोमा :