नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन अन्तर्गत बुधवार मतदान हुँदैछ । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीका अनुसार मतदान पूर्व नै लगभग हारजितको आंकलन भैसकेको छ ।
शिवाकोटी भन्छन्, ‘ प्रेस युनियनले बर्दियाको ठाकुरद्धारमा बसेर मोटामोटीरुपमा उम्मेदवार चयन गरेको थियो । युनियनले गरेको चयन सफल सहि सिद्ध हुँदैछ । हामीले देशभर सर्वेक्षण नै गरेर उम्मेदवार चयन गरेका हौं । गठवन्धन गर्नुपर्ने भएकाले केही पदमा हामीले लेनदेन गरेका छौं । अध्यक्षमा विपुलदेखि सबै पदका उम्मेदवार निकै बलियो अवस्थामा छन् । मुुलुकमा लोकतन्त्रको सुदृढीकरण र पत्रकारको भौतिक तथा पेशागत सुरक्षाका लागि विपुल नेतृत्वको गठवन्धनको जित अनिवार्य छ । ’
शिवाकोटीका अनुसार विपुल मोफसलमा पत्रकारिता गरेर महासंघको अध्यक्षमा उम्मेदवारी दिने पहिलो व्यक्ति हुन् । उनको गठवन्धनलाई नेपाली कांग्रेस र शुभेच्छुक संघसंस्थाको मात्र होइन माओवादी केन्द्र निकट प्रेस सेन्टर र एमालेको माधव नेपाल पक्षको पनि समर्थन छ ।
निर्मला शर्माको समूह भने तुलनात्मकरुपमा कमजोर छ । महिला भनेर भावनात्मक कुरा गरेपनि त्यसको कुनै अशर नपर्ने शिवाकोटी बताउँछन् ।
शिवाकोटी भन्छन्, ‘ महिला अध्यक्ष भएर इतिहास रच्नु पर्छ भन्नेहरु २५औं महाधिवेशनमा भावना विद्रोही अध्यक्षको उम्मेदवार हुँदा कहाँ थिए ? भावनाको मामिलामा केही नबोल्ने अनि अहिले सत्ता निकट महिला उम्मेदवार हुँदा इतिहासको कुरा ? ’
निर्मला गठवन्धनले सत्ताबाट प्राप्त सुविधा र सहयोगको चरम दुरुपयोग गरेको शिवाकोटीको आरोप छ । महासंघको इतिहासमै पहिलोपटक प्रत्यक्ष चुनाव प्रणाली भएकाले सरकारले जति प्रयास गरेपनि प्रजातान्त्रिक नेतृत्वको गठवन्धन विजयी हुने उनको दावी छ ।
मतदानको पूर्व सन्ध्यामा युनियनमा आबद्ध भएका तर महासंघको चुनावमा बागी उम्मेदवार भएकाहरुलाई कारवाही गर्नु आफनो धर्म भएको शिवाकोटी बताउँछन् । आफना गठवन्धन पार्टनरलाई विश्वास दिलाउन पनि कारवाही अपरिहार्य भएको उनको राय छ ।
नेपालमा अनलाइन मिडियादेखि ठूलो मिडिया हाउसमा समानुपातिक विज्ञापन वितरण, पत्रकारको भौतिक तथा पेशागत सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रजातान्त्रिक शक्तिबाट मात्रै सम्भव छ । यसका लागि पनि विपुल समूहको जित अनिवार्य रहेको शिवाकोटी बताउँछन् ।
विस्तृत भिडियोमा :