मन्त्रिपरिषद् बैठकबाट जसपाका कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता भए नभएको बारे जसपाकै नेताहरु अनभिज्ञ छन् । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठ पनि मिडियामा आफूले खबर पढेको तर खास यकिन कुरा आफूलार्ई पनि थाहा नभएको बताउँछन् ।
श्रेष्ठ भन्छन्, ‘ यदि मुद्दा फिर्ता भएका हुन् भने त्यो सकारात्मक छ । यो प्रधानमन्त्रीले हामीमाथि निगाह गरेको होइन । झूठा मुद्दा फिर्ता लिने र खारेज गर्नु उनको कर्तव्य हो । उनले आफनो कर्तव्य पूरा गर्नुपर्छ । हाम्रो प्रमुख माग भनेको संविधान संशोधन हो । संविधान संशोधन ओलीले पूरा गर्छु भनेर पनि हुँदैन । यसका लागि दुई तिहाइ चाहिन्छ । उनले असल मनशायले हाम्रा माग पूरा गर्न खोजेपनि उनीसंग सत्ता सहकार्य हुँदैन । उनी प्रतिगमनका मतियार हुन । उनीसंग सहकार्यको गुञ्जायस छैन । ’
नेता श्रेष्ठका अनुसार ओलीले केन्द्रदेखि प्रदेश सरकार जोगाउन साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरिरहेका छन् । लुम्बिनी प्रदेशमा आफनो पार्टीका सांसद्ले देखाएको चर्तिकला ओलीकै खेलको परिणाम हो । आफना सांसद्हरुलाई पद मात्र नभइ अन्य प्रलोभनमा पनि पारिएको उनको आशंका छ ।
लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव ल्याउने जसपाका चार सांसद् फेरि मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा लागेपछि यो विषयमा पार्टीले गम्भीर अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
श्रेष्ठ भन्छन्, ‘ओलीका कारण अहिले प्रदेशदेखि केन्द्रसम्म सांसद किनबेच परम्पराको पुनरावृति भएको छ । ओलीका हरेक गतिविधि प्रतिगमनउन्मूख छन् । उनले यो व्यवस्था नै हटाउन खोजेका छन् । ’
उनका अनुसार निकासका लागि ओलीको बिदाइका लागि हिजो उनको कदमविरुद्ध संघर्ष गरेका सबै राजनीतिक शक्ति एक हुनुपर्छ । अविश्वास प्रस्ताव ल्याएर उनलाई हटाउन अब ढिलो गर्नु हुँदैन । ओलीविरुद्ध बहुमत पुग्दैन कि भनेर प्रचण्ड र देउवाले चिन्ता लिनुपर्दैन । जे हुन्छ, हुन्छ भनेर अविश्वासको प्रस्तावमार्फत प्रक्रिया थाल्न ढिलो गर्नु हुँदैन । यो विषयमा मुख्यतः कांग्रेस र माओवादी केन्द्र गम्भीर हुनुपर्छ ।
मुलुक राजनीतिक भड्खालोमा पर्न थालेकाले निकासका लागि सहमतीय सरकार पनि विकल्प हुनसक्ने श्रेष्ठ बताउँछन् । ओली बाहेक जस्को पनि नेतृत्वमा सरकार बनाउन सकिने तर त्यो दलहरु भित्रैबाट हुनुपर्ने उनको निष्कर्ष छ ।
विस्तृत भिडियोमा :