कोरोना संक्रमणले भयावह रुप लिन थालेपछि सरकार ‘लकडाउन’ सहितका कार्यक्रम सार्वजनिक गरिरहेको छ । तर, के निषेधाज्ञा वा ‘लकडाउन’ नै कोरोनाबाट बच्ने अन्तिम अस्त्र हो त ?
शहीद गंगालाल नेसनल हेल्थ सेन्टरका मुटु रोग विशेषज्ञ डा.रविन्द्र सिम्खडा भन्छन्, ‘लकडडाउन’ समाधान होइन, तर कोरोना भाइरसको ‘चेन ब्रेक’ गर्न यो जरुरी छ । कम्तिमा दुई हप्ता ‘लकडाउन’ गरे कोरोना भाइरसको ‘चेन ब्रेक’ हुनेछ । यो बीचमा सरकारले यथेष्ट अक्सिजन, जनशक्ति, आईसीयू, भेन्टिलेटर, प्लाज्मा, रेम्डिशिविरजस्ता औषधिको जोहो गर्नुपर्छ ।’
अहिले नेपालमा द्रुत गतिमा फैलिरहेको कोरोना ‘युके भेरियन्ट’ हो । यो विगतभन्दा खतरनाक छ । यसले फोक्सो मात्र नभई शरीरका सबै अंगमा असर गरिरहेको छ । उपचारबाट निको हुनेहरुको संख्या पनि न्यून छ । जो संक्रमित छन् , उनीहरुमा झन बढी जटिलता देखिएको छ ।
विरामीको संख्या यति धेरै बढेको छ कि अस्पतालमा भ्यान्टिलेटर र आईसीयू सबै भरिइसके । चिकित्सक पनि धमाधम संक्रमित हुन थालेका छन् । कतिपयको त ज्यान नै गइसक्यो । यो स्थिति अझै बढ्ने देखिन्छ ।
डा.सिम्खडा भन्छन्, ‘सामान्य अवस्थाका संक्रमितले अस्पताल नगइ ‘होम आइसोलेसन’ मै बस्नु राम्रो । रगतमा अक्सिजनको मात्रा ९३ प्रतिशत भन्दा घट्यो भने त्यो अवस्थामा अस्पताल जानुपर्छ । अन्यथा, घरमै बसेर रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाएर बसे केही दिनमै संक्रमणमुक्त भइन्छ । अली गम्भीर भएका दोस्रो खालका विरामी हुन । उनीहरुलाई अस्पतालमा अक्सिजन दिएर राखिन्छ तर आईसीयूको जरुरत पर्दैन । तेस्रो खालमा संक्रमित भने जलिट खालका छन् । उनीहरुलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिन्छ । यस्ता विरामीका लागि प्लाज्मा थेरापी, रेम्डिशिविर, एन्टिबायोटिक, स्टेरोइड लगायतका औषधि प्रयोग गरिँदैछ । ’
अहिले नेपालमा भारतबाट ल्याइएको कोभिशिल्ड र चीनबाट ल्याइएको भेरोसिल भ्याक्सिन दिइँदैछ । यो भ्याक्सिन सरकारको नीति अनुसार सबैले लगाउनुपर्छ । भ्याक्सिनको सामान्य साइड इफेक्ट देखिएपनि डराउन हुँदैन । भ्याक्सिनले कोरोना संक्रमणबाट बच्न ठूलो मद्दत गरिरहेको छ ।
डाक्टर सिम्खडाका अनुसार भ्याक्सिन लगाउँदैमा कोही सतप्रतिशत सुरक्षित हुने होइन । भ्याक्सिन लगाउँदा संक्रमणको सम्भावना कम हुने र भइ हालेपनि ज्यानमा खतरा नपर्ने उनको भनाइ छ । यसकारण निर्धक्क भएर उपलब्ध भ्याक्सिन लगाउन उनको सुझाव छ ।
विस्तृत भिडियोमा :