नेपालमा दैनिक चार हजार बढी कोरोना संक्रमित थपिने गरेका छन् । सरकारले संक्रमण रोक्न काठमाडौंमा बुधवारबाट निषेधाज्ञा लागू गरेको छ भने देशका विभिन्न स्थानमा पनि निषेधाज्ञाको तालिका बनिसकेको छ ।
संक्रमण रोक्न लकडाउन गर्नुभन्दा त्यसको उद्गममा गएर निदानको उपाय खोज्नुपर्ने कतिपयको सुझाव छ । बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोरकुमार विश्वास नेपालमा कोरोना फैलनुको मुख्य कारण भारत भएको ठोकुवा गर्छन् । भारतबाट कोरोना आगोसरी फैलिदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नियन्त्रणको ठोस पहल नगर्नु विडम्बना भएको उनी बताउँछन् ।
विश्वास भन्छन्, ‘खुला सीमा भएर दैनिक हजारौं मानिस भारतबाट नेपाल आइरहेका छन् । यसरी आउनेहरु नेपाललाई ट्रान्जिट बनाएर खाडी देशमा जानेहरु छन् । धेरैजसो भारतीय संक्रमितहरु त जहाज चढेर त्रिभुवन विमानस्थलमा अवतरण गरिरहेका छन् । कोरोना नियन्त्रण गर्ने हो भने सबैभन्दा पहिले त खुला सीमा र भारतबाट हुने उडान बन्द गर्नुपर्यो नि । ’
प्रधानमन्त्री ओलीले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को नेतृत्व पनि आफैले लिनुपर्छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट संक्रमण नियन्त्रणका लागि उचित पहल हुन नसकेकाले प्रधानमन्त्री आफैले कमाण्ड सम्हाल्नुपर्छ ।
विश्वास भन्छन् ‘स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले भारतीय नागरिकहरुको पीसीआर परीक्षण बन्द गरेका थिए । त्यो राम्रो कदम थियो । तर, भारतीय दुतावासबाट आएको दवाव थेग्न नसकेपछि नेपालीहरुलाई पन्छाएर पुनः भारतीय नागरिकहरुको परीक्षण गर्न थालिएको छ । यसबाटै थाहा हुन्छ, नेपालका मन्त्रीहरु कति निरीह छन् ।’
कोभिड १९ का कारण भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालमा केपी शर्मा ओलीको पत्तासाफ हुने विश्वासको दावी छ । आगामी चुनावमा भाजपा र नेपालमा ओली पक्ष धराशायी हुने उनको विश्लेषण छ ।
नेता विश्वासका अनुसार प्रधानमन्त्री ओलीलाई भारतको खुल्ला समर्थन छ । भारतको समर्थन भएकै कारण जसपाको महन्थ र राजेन्द्र समूहले ओलीलाई साथ दिइरहेको छ । यो अवस्थामा पनि ओली सुरक्षित छैनन् । उनको नीति कार्यक्रम र बजेट पनि असफल हुनेछ ।
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदा त्यहाँ पनि बहुमत नपुग्ने देखिन्छ । पक्ष र विपक्ष दुवैमा आवश्यक बहुमत नपुग्दा मुलुक शुन्यतामा जाने डर छ । त्यो अवस्थामा नयाँ चुनाव निकास हुनसक्ने विश्वासको विश्लेषण छ ।
नयाँ चुनाव भए नेपालमा बामपन्थीहरु समाप्त हुनेछन् भने प्रजातान्त्रिक शक्तिहरु बलिया हुनेछन् ।
विश्वास भन्छन्, ‘ अब तेस्रो संविधानसभा चुनावमा जानुपर्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्छ । त्यो नै मुलुकलाई विकास र समृद्धिमा लैजाने अन्तिम उपाय हो ।’
विस्तृत भिडियोमा :