Logo
अन्तरवार्ता

मुलुकमा राज्यले सम्मान गर्न जानेको खोई ?


विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसले विश्व त्रसित छ । भाइरसको त्रसितले नै मानिसहरुको मानसिक चिन्ता उत्तिकै बढेको देखिन्छ । यो अवस्थामा विश्वमा धेरै मानिसहरुको निधन भईसकेको पनि छ । अस्पतालहरूले भर्ना
लिएर राम्रोसंग उपचार गरिदिएको भए उनीहरूको असामयिक निधन हुने थिएन होला ।

कुनै व्यक्तिको मृत्यु राज्य र अस्पतालको एक वा दुई अंक जस्तो सामान्य हुन सक्ला तर, उसको परिवारका लागि सम्पूर्ण सहारा ढल्छ । यस्तै उदाहरण छ जनकपुरमा । जनकपुरस्थित प्रादेशिक अस्पतालले भर्ना नलिएपछि एम्बुलेन्समा काठमाण्डौं लैजादै गर्दा बाटोमै जीवन गुमाएका श्यामको परिवारमा बा–आमाको बुढेसकालको सहारा ढलेको छ, पत्नीको जिन्दगी नै गुमेको छ भने छोराछोरीको खुसी र आडभरोसा सकिएको छ ।

मुख्य कुरा जनकपुरस्थित प्रादेशिक अस्पताल पुर्‍याएपछि पीडित परिवारका सदस्यहरूले जति अनुनय र दौडधुप गर्दा पनि जसरी श्यामले १० घण्टासम्म उपचार नपाएर काठमाण्डौं आउंदै गर्दा मृत्युको मुखमा पर्नुपर्‍यो, त्यो घटना आफैंमा कहालीलाग्दो मात्र छैन, अस्पतालहरूको चरम गैरजिम्मेवारीलाई उदांगो पारेको छ ।

कोरोना संक्रमण बढेसंगै ज्वरो, खोकी, श्वास÷प्रश्वास र झाडापाखालाका बिरामीले अस्पतालमा भर्ना नपाउने र त्यसैका कारण उपचार नपाएर मृत्युवरण गर्न बाध्य हुने अवस्थाले अस्पतालहरूको कर्तव्यप्रति गम्भीर प्रश्न उठेको छ । ज्वरो, खोकी, श्वास÷प्रश्वासलगायतका समस्याको उपचारका लागि आउने बिरामीलाई जांच नै नगरी फिर्ता पठाउने अस्पताल कर्तव्यच्युत भएका छन् ।

धनुषाको नगराइन–३ फूलगामाका श्याम साह हुन् वा वीरगन्ज–११ श्रीपुरका चलित्तर महतोले वा बारागढी–२ सुखीपत्राका ९ वर्षीय सुशीलकुमार साहदेखि वीरगन्ज महानगरपालिका–२ छपकैयाका विष्णु लामाको मृत्युले हाम्रा अस्पताल र नीति निर्माताको अक्षमता उजागर गरेका छन् । वीरगन्ज–११ श्रीपुरका चलित्तर महतोले ज्यान गुमाएको घटना सुन्ने हो भने अझै कहालीलाग्दो छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले सबै निजी अस्पताललाई पत्राचार गर्दै बिरामीलाई उपचार नगरी फिर्ता नपठाउन निर्देशन दिए पनि अस्पतालहरूले उपचार नगरेको मात्र होइन, कोरोना संक्रमण नभएको रिपोर्ट देखाउंदा पनि उनले उपचार पाएनन् जसको कारण उनको ज्यानै गयो । उनको सवालमा नेसनल मेडिकल कलेजले जुन हर्कत गर्‍यो, त्यो कुनै हिसावले पनि क्षम्य हुनै सक्दैन । बारागढी– २ सुखीपत्रा घर भएका ९ वर्षीय सुशीलकुमार साहलाई उनको परिवारले एकपछि अर्काे गर्दै वीरगन्जका पांचवटा अस्पताल पुर्‍याए पनि कोरोनाको शंका गर्दै कुनैले पनि भर्ना नलिएपछि अन्ततः ज्यानै गुमाए ।

वीरगन्ज–२ छपकैयाका २० वर्षीया विष्णु लामाले पनि एकपछि अर्काे गर्दै अस्पताल पुगे पनि उपचार नै नपाएर ज्यान गुमाएको घटनाले देखाउंछ, अस्पतालहरूले बिरामी र उनका आफन्तलाई कति पीडा दिएका छन् भन्ने । आफन्तले रिक्सामा राखेर आदर्शनगरस्थित एड्भान्स मेडिकेयर हस्पिटल, नारायणी अस्थायी कोरोना (गण्डक) अस्पताल, नारायणी बयोधा अस्पताल, तराई अस्पताल, नेसनल मेडिकल कलेज, नारायणी अस्पताल, वीरगन्ज हेल्थ केयर हुंदै फेरि नारायणी अस्थायी कोरोना (गण्डक)
अस्पताल पुर्‍याउंदा गेटमै उनको मृत्यु भयो । उनको मृत्युपछि चार वर्षीय छोरा टुहुरो भएको र आमा खोज्दै रोएको दृश्यले जो कोहीलाई पनि दुःखी बनाइदिन्छ ।

तैपनि यस्ता घटनाले हाम्रा अस्पताललाई नछुनु दुभाग्र्यपूर्ण अवस्था हो । वीरगन्जमा कोरोना शंका गर्दै अस्पताल र डाक्टरहरूले उपचार नगर्दा बिरामीको मृत्यु भएका यस्ता दर्जनौं उदाहरण छन् भने बिरामी र उनीहरूका परिवारजनले भोगेको सास्ती बिर्सन सकिनेखालका छैनन् । यतिसम्म कि वीरगन्जमा अस्पतालहरूले बिरामीको उपचार गर्न अस्वीकार गरेपछि साउन २७ मा उच्च अदालतले ।।।स्वास्थ्य संस्थाहरूमा उपचार गराउन गएका बिरामीलाई उपचार सेवा दिन र दिलाउन कुनै पनि बहानामा इन्कार नगर्नू र नगराउनू’ भनी वीरगन्जका सम्पूर्ण सरकारी तथा निजी अस्पतालको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

आप्mनै अस्पतालमा उपकरण र विज्ञ डाक्टर भएको भनी कोरोना बिरामीको उपचार गर्दै आएका अस्पतालहरू नै अहिले सरकारी निर्णयको विरोधमा देखिनु उचित होइन । सरकारले पनि यस्तो विषम परिस्थितिमा पनि निजी अस्पतालहरूलाई विश्वासमा लिन सकेको देखिंदैन । त्यसैले कुनै पनि बहानामा सरकार, अस्पताल र डाक्टरहरूलाई जनताको स्वास्थ्यसंग खेलबाड गर्ने छूट छैन ।

स्वास्थ्य सेवा गर्नुलाई धर्म मान्ने हाम्रो विगत परम्परालाई यतिबेला सबैले सम्झना गरौं र कसैले पनि अनाहकमा मृत्युको मुखमा पर्ने अवस्था आउन नदिऔं । कोरोना संक्रमण नै भए पनि उपचार गर्नु अस्पताल र चिकित्सकको कर्तव्य र जिम्मेवारी हो। प्रत्येक चिकित्सकले स्वास्थ्य क्षेत्रको आचार अर्थात् हिप्पोक्रेटिक ओथलाई स्मरण गर्नु उचित हुन्छ । कोरोनाको शंका गर्दै बिरामीको उपचार नगर्नु उचित होइन । राज्यले सम्मान गर्ने गरेको भए पक्का यस्तो नहुनेपा थियो कि ?