नेपाली कांग्रेस मुगुका पूर्व सभापति ऐनबहादुर शाही भन्छन्, ‘मुगुबाट चीन जोड्ने नाक्चेलाङ्ना नाका खोल्न सबैले पहल गर्नुपर्छ । यो नाका खोले कर्णालीको कायापलट हुन्छ ।’
अनलाइनपाना टीभीसँग कुरा गर्दै नेता शाहीले चीनसंगको नाका खुलाउन सके आयात भन्दा निर्यात बढी गर्न सकिने र त्यसले समग्र कर्णाली प्रदेश नै समृद्ध हुने बताए ।
उनका अनुसार कांग्रेस नेता रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री र बालकृष्ण खाँण रक्षा मन्त्री भएकाबेला यो नाका खोल्न प्रयास गरिएको थियो । त्यो बेला सडक निर्माण र चिनियाँ पक्षसंग कुराकानी पनि भएको थियो । नाका खोल्ने विषय कांग्रेसको उच्च प्राथमिकतामा भएपनि सरकार परिवर्तन हुँदा यो मुद्दा ओझेलमा परेको छ ।
मुगुमा दुई देशको सीमा क्षेत्रमा कुनै विवाद नभएको र नेपाली सुरक्षा पोष्ट पनि त्यहाँ भएकाले कर्णालीका उत्पादन चीनतर्फ पठाउन र चिनियाँ सामग्री ल्याउन निकै सहज हुने शाही बताउँछन् । मुख्यतः कर्णालीबाट स्याउ, जडिबुटी, चामल, दाल, ओखर निर्यात गर्न सकिनेछ ।
हुम्लामा देखिएको सीमा विवादका सम्बन्धमा शाही भन्छन्, ‘ कांग्रेस नेता जीवनबहादुर शाहीले सीमा अतिक्रमण भएको निष्कर्षसहित बुझाएको रिपोर्ट एकदम सही हो । अहिले पनि हाम्रो कुरा त्यही हो । सरकारले भने सीमा मिचिएको छैन भनेर गलत कुरा गर्यो । ’
कर्णालीको विकासका लागि सबैभन्दा बढी कर्णाली प्रदेश सरकारले काम गर्नुपर्ने हो । तर, महेन्द्रबहादुर शाही नेतृत्वको सरकार भ्रष्टाचारमा मात्र लिप्त भयो । मुख्यमन्त्रीसहित मन्त्री र नेकपाका नेताहरु पार्टीको दाउपेचमा लागेकाले त्यसको पीडा कर्णालीवासीले भोग्नु परेको छ । नेकपाले प्रदेश मात्र होइन देश नै हाँक्न सक्दैन भन्ने तथ्य स्पष्ट भैसक्यो ।