Logo
अन्तर्वार्ता

बालुवाटार जग्गा र लडाकु शिविरको भ्रष्टाचार तत्काल छानबिन गर (भिडियोसहित)


नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले तत्काल ललिता निवास जग्गा र लडाकु शिविरमा भएको भ्रष्टाचारबारे छानबिन गर्न माग गर्नुभएको छ । 

अनलाइन पाना टीभीसंगको बिशेष कुराकानीमा नेता खतिवडाले बालुवाटार जग्गा प्रकरणमा केहीलाई दोषी ठहर गरी कारवाही गर्ने तर प्रधानमन्त्री निकट भएकाहरुलाई जोगाउने काम भएकोमा आक्रोश व्यक्त गर्नुभयो । 

खतिवडाले भन्नुभयो, ‘ कांग्रेसका बिजय गच्छदार, अख्तियारमा पूर्व प्रमुख दीप बस्नेत  लगायत दोषी हुँदा तत्कालिन प्रधानमन्त्री माधव नेपाल कसरी दोषमुक्त ? जग्गा फिर्ता गरेर विष्णु पौडेल चोखो ? ’

संवैधानिक निकायमा नियुक्ति भए लगत्तै माधव–प्रचण्ड समूहले आमहडताल गरेकोमा आपत्ति जनाउँदै खतिवडाले भन्नुभयो, ‘ प्रचण्डलाई लडाकु शिविरमा भएको अनियमितता प्रकरणमा जेल जाने डर हुनसक्छ । माधव जीलाई बालुवाटार जग्गाको भ्रष्टाचारमा पार्छन कि भन्ने त्रास छ । त्यही भएर हडताल गरेको हो कि ? ’

जे जस्तो भएपनि भ्रष्टाचारको विषय राजनीतिक लेनदेनमा आधारित हुनु हुँदैन । अविलम्ब अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाउनुपर्छ । प्रधानमन्त्री यदि साँच्चिकै सुशासन चाहन्छन् भने निष्पक्षरुपमा सबै किसिमका भ्रष्टाचारको छानबिन गरुन । तर, विष्णु पौडेल र वाइडबडीमा रविन्द्र अधिकारीलाई चोख्याए जस्तो गर्ने हो भने उनको पनि काम छैन । 

नेता खतिवडाले संवैधानिक निकायमा गरिएको नियुक्ति असंवैधानिक भएको समेत बताए । केही कांग्रेस नेताले कांग्रेस निकट पदाधिकारीलाई फिर्ता बोलाउनुपर्ने भनेकोमा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, ‘ के ती व्यक्तिलाई नियुक्तिका लागि कांग्रेसले सिफारिस गरेको हो र ? संवैधानिक परिषद्ले गरेको सिफारिस कांग्रेसले फिर्ता गर्ने कुरा हास्यास्पद भएन र ? ’

नेता खतिवडाले मुलुकको राजनीतिक अहिले सर्वोच्च अदालतको फैसलाको प्रतीक्षामा रहेको बताउनुभयो । सर्वोच्चले जे फैसला गर्छ त्यसलाई सबैले मान्नुपर्ने र कांग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेकाले त्यसमा कुनै शंका उपशंका गर्नुपर्ने आवश्यकता नरहेको उहाँले औंल्याउनुभयो । 

दुई तिहाइ मत पाएर पनि सरकार चलाउन नसकेर उल्टो मुलुक र संविधानलाई संकटमा हालेका कारण नेपालमा कम्युनिष्टहरुको औचित्य समाप्त भएको खतिवडाको दाबी छ । उहाँले कांग्रेसका लागि सुनौला दिनहरु आइरहेकाले आपसमा अनावश्यक विवाद गर्न नहुनेतर्फ सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको ध्यानाकर्षण पनि गराउनुभयो ।