प्रतिनिधिसभा विघटन सदर वा पुनस्र्थापनाबारे सर्वोच्च अदालतको फैसला नआएसम्म राजनीतिक अन्योल कायमै रहनेछ । आ–आफ्नो स्वार्थ अनुसार दलहरुले आफ्ना गतिविधि तीब्र पारेका छन् । यतिसम्म कि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो समूहलाई सडकमा उतार्न सुरु गरिसकेका छन् ।
राजनीतिक दल र नेताहरुबीच बैचारिक, सैद्धान्तिक र कानुनी मतान्तर भन्दा पनि प्रतिष्ठाको लडाईं बढी देखिन्छ । त्यसमा पनि नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समूहको जुँगाको लडाईं अझ चर्केको छ । राजनीतिक अवस्था हेर्दा सर्वोच्चले जे फैसला दिएपनि मुलुकले निकास पाउने देखिदैन ।
मधेशी नागरिक समाजका संयोजक गणेशकुमार मण्डल प्रतिनिधिसभा पुनस्र्थापना भए संसदमै रक्तपात मच्चिने दावी गर्छन् । उनका अनुसार यो नेपाली दल र नेताहरुको लडाईं नभइ शक्ति राष्ट्रहरुको भिडन्त हो । हेर्दा नेपाली अनुहार देखिएपनि ती सबै विदेशीका एजेन्ट हुन् ।
पुनस्र्थापित संसद्ले प्रधानमन्त्री र राष्ट्रपतिलाई हटाउने निश्चित भएको र त्यो स्थिति ओली समूहका लागि अस्वीकार्य हुने हुँदा त्यसले संसद्मा भिडन्तको स्थिति ल्याउने छ । तर, पुनस्र्थापित हुने संकेत पाउने वित्तिकै प्रधानमन्त्रीले संकटकाल लगाउनेछन् । त्यो बेला विभिन्न मुद्दा लगाएर ओलीले आफना विरोधीहरुलाई थुन्न सक्नेछन् ।
यदि, संसद् विघटन सदर भए बैशाखमा निर्वाचन हुने छैन । त्यो अवस्थामा दलहरुले सडक तताउने छन् । विदेशी शक्तिले स्वयं प्रधानमन्त्री र राष्ट्रपतिलाई असफल गराउन खेल खेल्नेछन् । त्यो बेला म्यानमारमा जस्तै ‘सैन्य कू’ अवश्यम्भावी हुनेछ ।
तर,
मुलुकलाई त्यो दुर्दशामा जान नदिन एउटा शूत्रले काम गर्ने देखिन्छ । तत्काल सर्वदलीय सर्वपक्षीय सरकार गठन गर्नुपर्छ । यो सरकार गैर दलीय हुनुपर्नेछ । यसरी बनेको सरकारले संविधान पुनर्लेखन आयोग बनाउनुपर्छ । सो आयोगले संविधानमा भएका कमजोरी औंल्याई आवश्यक संशोधन वा पुनर्लेखनका लागि प्रतिवेदन बनाउनेछ । सोही सुझावका आधारमा संविधानमा परिवर्तन गर्नुपर्छ ।
त्यसपछि सरकारले चुनाव गराइ सरकार हस्तान्तरण गर्नुपर्छ । यो नै मुलुक जोगाउने अन्तिम अस्त्र हो । अन्यथा, दल र नेतासंगै पनि मुलुक पनि असफल हुनेछ ।
अझ स्पष्ट भन्दा अहिलेका पहिलो पंक्तिका नेताहरुमा देशप्रेम नभएकाले उनीहरुले नयाँ पुस्तालाई सत्ता छोड्नुपर्छ । नयाँ पुस्तालाई देश जिम्मा नलगाउने हो भने केही बर्षमै मुलुक विभाजनमा जानेछ । मुलुकलाई उत्तर कोरिया र दक्षिण कोरियाको अवस्थामा जानबाट कसैले रोक्न सक्ने छैन ।