जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी हालै सत्तारुढ दल नेकपाको ओली समूहमा प्रवेश गरेका नेता डा. शिवजी यादवले जसपाका शीर्ष नेताहरुमाथि कडा टिप्पणी गरेका छन् । जसपा पार्टी नभइ केहीथरी नेताहरुको झुण्ड मात्र भएको र सो झुण्ड पनि सर्वोच्च अदालतको फैसलासंगै तितरबितर हुने उनको भनाइ छ ।
जसपामा कम्युनिष्ट र लोकतान्त्रिक गरी दुई धार देखिए पनि सो पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको कब्जामा रहेको यादवको दाबी छ । डा. यादव भन्छन्, ‘ कुन शक्तिले हो थाहा छैन तर जसपा बाबुरामको ग्राण्ड डिजाइनमा चलेको छ । उपेन्द्र यादव बाबुरामका कार्यकर्ता मात्र भएका छन् । बाबुराम र उपेन्द्रका अघि महन्थ ठाकुर, राजेन्द्र महत्तो लगायतका नेता निरीह छन् । उनीहरुको केही चल्दैन । ’
डा. यादवका अनुसार बाबुराम र उपेन्द्रका गतिविधि मुलुकमा अस्थिरता मच्चाउन उद्धत छन् । जातीय नारा उछालेर उनीहरु फेरि एकपटक मधेशमा मारकाट सृजना गर्ने षडयन्त्रमा लागेका छन् । अहिले संसद् बिघटनको बाहनामा उनीहरु यो वातावरण तयार गर्ने धूनमा छन् ।
महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्र यादव, अनिल झा, राजकिशोर यादव लगायतका नेताहरु चुनावको पक्षमा भएपनि बाबुरामको योजनाअघि उनीहरुको केही नचल्दा जसपा आन्दोलनमा जान बाध्य भएको हो ।
तर, जसपा निस्सासिएर लामो समय चल्न सक्दैन । सर्वोच्च अदालतको फैसलासंगै उनीहरु पनि अलग–अलग पार्टीमा रुपान्तरण हुनेछन् । पार्टी खोलेर देश र जनताको हितमा भन्दा पनि आफनो व्यवसाय चलाउने उनीहरुको धन्दा हो ।
नेता यादवले बैशाख १७ र २७ मा तोकिएको निर्वाचन कुनै हालतमा पनि नरोकिने दाबी गर्दै भने, ‘यो चुनावमा जसपा र प्रचण्ड–नेपाल समूहको पत्तासाफ हुन्छ । ’
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि श्रृंलाबद्धरुपमा गरिरहेको गाली उनीहरुकै लागि प्रत्युत्पादक बनेको छ । कहिले हिन्दु महासंघको अध्यक्ष त कहिले गणतन्त्र विरोधी भनेर ओलीलाई आरोप लगाउँदा यसले ओलीलाई नै फाइदा पुगेको छ ।
विस्तृत भिडियोमा :