द्वन्द्वकालमा सुर्खेत जेल ब्रेक गरेका झकबहादुर मल्ल ‘सुदीप’ नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि आक्रोशित भएका छन् । झाँक्री केवल व्यक्ति मात्र नभएर गणतन्त्र लागि रगत बगाएकी परिवर्तनको बाहक भएको भन्दै उनले ओली सरकार कतिसम्म निरंकुश छ भन्ने कुराको यो ताजा उदाहरण भएको उनले बताए ।
अनलाइन पाना टीभीसंग कुरा गर्दै नेकपा केन्द्रीय सदस्यसमेत रहेका नेता मल्ल भन्छन्, ‘ ओली आत्तिसकेका छन् । उनी एकपछि अर्को गल्ती गर्न थाले । पदमा बस्ने राजनीतिक, कानुनी र नैतिक आधारसमेत गुमाइसकेका ओली निरंकुश बनेका छन् । जनताको आन्दोलनले उनलाई चाँडै पछार्ने छ ।’
संसद् बिघटन कुनै हालतमा पनि सदर नहुने स्पष्ट पार्दै नेता मल्लले पुनस्र्थापित संसद्ले काम गर्नुअघि नै ओलीले संकटकाल लगाउन सक्ने आशंका गरे । ओली संकटकाल लगाएर रक्तपात मच्चाउन चाहन्छन् । आफनो कुर्सी जोगाउन उनी जुन हदसम्मको पनि कदम चाल्न सक्छन् । उनलाई देश र जनताको माया छैन ।
तर, ओलीले मुलुकलाई नोक्सान पुर्याउन नसकुन भनेर नेकपा प्रचण्ड–नेपाललगायत अन्य दलहरु पनि सचेत छन् । ओलीले गल्ती महसूस गरी छिटो भन्दा छिटो पद नछोडे लाखौं जनताले बालुवाटारबाट घिसारेर सडकमा ल्याउने चेतावनी उनले दिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका समन्वय विज्ञसमेत रहेका मल्ल भन्छन्, ‘राष्ट्रपति विद्या भण्डारीलाई बडामहारानी नबन्न सचेत गराउँछौं । राष्ट्रपतिको मान मर्यादा सीमा उल्लंघन गरेपछि रामकुमारीले मात्र होइन, देशभरका जनताले प्रश्न उठाउँछन् । जनताले प्रश्न उठाउँदा आफना कमजोरी सच्याउने कि पूर्जी थमाएर थुन्ने ? ’
मल्लले निर्मला पन्तका बलात्कारी र हत्यारा पत्ता नलाग्नुको पछाडि गृहमन्त्री रामबहादुर थापाको छोराको नाम जोडिएको कुरा जनताले उठाउन थालेकोसमेत बताए । अहिले बैतडीकी भागरथि भट्टका बलात्कारी र हत्यारालाई पनि सरकारले संरक्षण गरेको हुनसक्ने आशंका व्यक्त गरे ।
विस्तृत भिडियोमा :