Logo
अन्तर्वार्ता

अमितको अभिव्यक्ति ओलीको भारत परस्तको नतिजा (भिडियोसहित) 


अहिले भारतीय गृहमन्त्री अमित साहले नेपालमा भाजपा अनुकुलको सरकार बनाउने भनी दिएको अभिव्यक्तिले तरंग ल्याएको छ । भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयमा पुगी ध्यानाकर्षण गराइसकेका छन् भने नेपालमा पनि अमित साहको विरोध हुन थालेको छ । 

नेपाली कांग्रेसका नेता एवम पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधानले भारतसंग जनस्तरमा निकै राम्रो सम्बन्ध भएपनि त्यहाँका नेताहरुका विवादास्पद अभिव्यक्ति र कर्मले सम्बन्ध बिग्रिने स्थिति उत्पन्न भैरहेको टिप्पणी गरेका छन् । 

अनलाइन पाना टीभीसंग कुरा गर्दै नेता प्रधान भन्छन्, ‘ अमित जीको यो भनाइ खेदजनक छ । तत्काल फिर्ता लिन आग्रह गर्छु । यसअघि रक्षा मन्त्री राजनाथ सिंहले पनि लिपुलेक क्षेत्रमा सडक निर्माण गरी सो भूमि आफनो हो भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । अहिले गृहमन्त्री अमितको कुरा आयो । यो सरासर गलत हो । यसको हामी विरोध गर्छौ । ’

नेता प्रधानका अनुसार भारतले विगतदेखि नै नेपालमाथि थिचोमिचो गरिरहेको छ । खासगरी संविधान निर्माण भएपछि उसले गरेका व्यवहारका कारण नेपालीहरुले धेरै दुःख पाएका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओली नै भारत परस्त भएपछि उसलाई झन सजिलो भएको छ । संविधानलाई क्षतविक्षत बनाउन ओलीले भारतीय इशारामा काम गरेको आशंका छ । 

अहिले नेपालको राजनीतिक अवस्था सहि बाटोमा ल्याउन ससद् पुनस्र्थापनको विकल्प नभएको र सर्वोच्चले सो काम गर्ने प्रधानको दावी छ । पुनस्र्थापित संसद्ले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तवा ल्याएपनि राष्ट्रपतिविरुद्ध भने नजाने उनी बताउँछन् । प्रधानमन्त्रीले राष्ट्रपतिलाई ‘मिस युज’ गरेकाले उनलाई सजाय दिन आवश्यक नरहेको उनको तर्क छ । 

यदि संसद् बिघटन सदर भयो भने मुलुक द्वन्द्वमा जानेछ । बैशाखमा निर्वाचन असम्भव छ । यस्तो निर्वाचनमा भाग लिए कांग्रेस नराम्रोसंग पराजित हुन्छ । यो कुरा सभापति शेरबहादुर देउवालाई बुझाउन नेताहरु लागिरहेका छन् । 

नेता प्रधानले राजसंस्था र हिन्दु राष्ट्र कायम गर्नुपर्ने मुद्दा उठाउन आवश्यक नरहेको समेत बताए । उनका अनुसार जसले जति बल गरेपनि राजसंस्था स्थापना हुनेछैन । कुनैपनि राज्यको आफ्नो धर्म नहुने भएकाले अहिलेको प्रावधान नै उचित छ । 

बिस्तृत भिडियोमा :