Logo
अन्तर्वार्ता

ओली र प्रचण्ड–नेपाललाई मिलाउन चीन सक्रिय (भिडियोसहित) 


संसद् पुनस्र्थापनासंगै नयाँ सरकार गठनको गृहकार्य पनि प्रारम्भ भएको छ । नेकपाका दुवै ( ओली र प्रचण्ड–नेपाल) समूह पनि परामर्शमा जुटिसकेका छन् । उनीहरुले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसंग संवाद अघि बढाइसकेका छन् । 

आगामी सत्ता समीकरण के होला भन्ने चासो बढिरहेकाबेला जनता समाजवादी पार्टी (जसपा) ले भने नेकपाको ओली र प्रचण्ड–नेपाल समूहप्रति नै शंका गरेको छ । जसपा नेता जीतेन्द्र सिंह नेकपा विधिवतरुपमा नफुटेकाले उनीहरु नै मिल्न सक्ने बताउँछन् । 

अनलाइन पाना टीभीसंगको कुराकानीमा नेता सिंहले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भगिनी सम्बन्ध रहेको तथा चीनले नेकपालाई अविछिन्न राख्न खोजेको कुरा विगतमा समेत पुष्टि भैसकेकाले नेकपा फुट्नेमा शंका रहेको बताए । 

सिंह भन्छन्, ‘ चीनले ओली र प्रचण्ड–नेपाल समूहलाई मिलाउन प्रयास जारी राखेको छ । चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीचको ६ बुँदे सहमति यथावत छ । भंग भएको छैन । अहिले जतिसुकै कटुता भएपनि अ‍ोली र प्रचण्ड–नेपाल समूह मिलेर सरकार बनाउन सक्छन् । ’

यदि नेकपा बिभाजित नै भयो भनेपनि ओली समूहसंग समीकरण गर्न नहुने सिंहको भनाइ छ । ओलीको नीति, सिद्धान्त र प्रवृतिबाट बल्लबल्ल मुलुक जोगाएर फेरि उनैसंग सहकार्य गर्नु घातक हुने उनको भनाइ छ । 

नेपाली कांग्रेस वा प्रचण्ड–नेपाल समूहसंग सत्ता समीकरण गर्न जसपा तयार रहेको छ । सरकार बनाउने पहिलो जिम्मेवारी नेकपाको, दोस्रो कांग्रेस र तेस्रो जिम्मेवारी जसपाको भएकाले तत्काल जसपाले नेतृत्वमा दावी नगर्ने उनको भनाइ छ । 

नेता सिंहका अनुसार जसपामा संघीय समाजवादी पार्टीबाट आएका नेताहरुको कार्यशैली र सोचका कारण समस्या भैरहेको छ । मुख्यतः संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवका कारण जसपामा असन्तुष्टि बढेको छ । कुनैपनि बेला जसपा बिभाजनमा जान सक्ने उनको चिन्ता छ । 

विस्तृत भिडियोमा :