Logo

समाचार

बोक्सीको आरोपमा युवती लाई कुटपिट गर्ने ‘धर्तीमाता’ पक्राउ



भद्रकाली मन्दिरमा एक युवतीमालाई यातना दिने महिला पक्राउ परेकी छन् । आफूलाई ‘धर्तीमाता’ भन्ने बिष्णु कुँवरलाई राजधानीको बालाजुबाट पक्राउ गरिएको हो । बुटवलबाट काठमाडौं आएकी कुँवरले भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी एक युवतीमाथि बोक्सी भगाउने नाममा कुटपिट गरेकी हुन् । कुटपिट गरेको भिडियो सार्वजनिकपछि प्रहरीले उनलाई बयानका लागि बोलाएको थियो भने पीडितलाई उजुरी दिन आग्रह गरेको थियो ।

कानुनले सार्वजनिकस्थलमा हातपात गर्नुलाई अपराध मानेको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ११८ मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्ने कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भन्ने उल्लेख छ । सोही दफामा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यस्तै अपराध संहिताले अपमानजनक वा अमानवीय व्यवहार गरी बोक्साबोक्सीको आरोप लगाउने कार्यलाई पनि दण्डनीय अपराध मानेको छ । उक्त ऐनको दफा १६८ अनुसार बोक्सीको आरोपमा अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मानसिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था रहेको छ । प्रहरीले यही प्रावधानलाई टेकेर खोजबिन र अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी बोगटीको भनाइ छ ।

बुटवल प्रहरीका अनुसार कुँवर बुटवलको कालिकानगर लखनपथमा बस्ने गर्छिन् । कुँवरले त्यहा माताको मण्डप नै तयार पारेको र उनलाई भेट्न÷देखाउन देशका विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् । सामाजिक सञ्जालमा भने धर्तीमाता भनिने कुँवरले युवतीमाथि आक्रमण गरिरहेको अवस्थामा साथै रहेका प्रहरी र उपस्थित सर्वसाधारण मुकदर्शक बनेको विषयलाई लिएर व्यापक आलोचना भएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार ०८:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।