तीन दिनसम्मको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा सडक अवरुद्ध भएका छन् । साथै मानवीय क्षति समेत भएको छ ।
काठमाडौं र तराई जोड्ने विभिन्न साना ठूला राजमार्गहरु अवरुद्ध भएको खबर छ । अरनिको राजमार्गअन्तर्गत कोशिपारी यातायातको चौवास क्षेत्रमा वर्षातपछि पनि सवारी चल्न नसकेको स्थानीयले जानकारी दिएका छन् ।
कोशीपारि हुँदै रामेछापको दोरम्बा गाउँपालिकाका पासेवान, डोब्ला जाने सडक पनि अरुवद्ध छ । काभ्रे–रामेछापको सीमानामा पर्ने चौंरी खोलामा बाढी आएपछि त्यहाँका सडक अवरुद्ध भएको हो । भिरालो र कच्ची सडक भएका कारण बाढीले व्यापक मात्रामा क्षति पुर्याएको छ । पुँडीघ्याङ नजिकै दुई ठाउँमा पहिरो खसेका कारण स्थानीय रुपमै सवारी आवतजावत बन्द भएको स्थानीयले बताका छन् ।
त्यस्तै मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, हलेसी–जयराम, घुर्मी–खुर्कोट तथा सगरमाथा राजमार्गको विभिन्न स्थानमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङका अनुसार बाढीका कारण काठमाडौंबाट मंगलबार बेलुका छुटेको सवारी साधन सिन्धुली जिल्लाको खाङ्साङबेसीमा रोकिएको छ । जिल्लामा सञ्चालित यातायात सेवा अवरुद्धले दैनिक उपभोग्यवस्तु अभावको सम्भावना बढेर गएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । ग्रामीण क्षेत्रका अधिकांश सडक कच्ची भएकोले वर्षातपछि सबैजसो अवरुद्ध भएको हो ।
जन्तेढुङ्गा गाउँपालिकाबाट सिन्ताङ, फाक्टाङ–धाप्लाङघाट तथा खोटाङबजार–रसुवाघाट सडक चार महीनादेखि ठप्प छ । दिक्तेल–बाक्सिला तथा दिक्तेल–ऐँसेलुखर्क सडकसमेत हप्ता दिनदेखि लगातार परेको वर्षाका कारण हौँचुरमा ठूलो पहिरो झरेपछि अवरुद्ध भएको छ ।
कालोपत्रको काम थालिएको मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवा ४६ किलोमिटर सडक निर्माण कम्पनीले निर्वाधरूपमा सवारी साधन चल्ने वातावरण बनाउन नसक्दा अवरुद्ध बनेको स्थानीयवासीले बताए । जेठ २६ गते झरेको पहिरो हटाउन नपाउँदै पुनः पहिरो झर्न नरोकिएछि अवरुद्ध भएको हो ।
पाल्पामा पनि सडक अवरुद्ध
अविरल वर्षापछि आएको बाढी र पहिरोले सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक अवरुद्ध भएको छ ।
तानसेन–बुटवल सडकखण्डको गौडे पुल, कालीमाटी चर्चरे, हिउँदे खोला, झुम्सा र सिद्धवावा क्षेत्रमा पहिरो खसेको छ । केही स्थानमा पहिरो प्रहरी तथा सडक कार्यालयले डोजर प्रयोग गरी एकतर्फी सडक खुलाएका छन् ।
तानसेन रिडी तम्घास सडकको रिब्दीकोट गाउँपालिकाको हार्थाकमा पहिरो खसेको छ । यसबाट सडक अवरुद्ध भएको छ । रामपुर नगरपालिका वडा नं. ४ गिजिङडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको आर्यभञ्ज्याङ्ग क्षेत्रमा पहिरो झरेका कारण सडक बन्द भएको छ ।
माथागढी गाउँपालिकाको–१ चिदीपानी बुढीकोटमा, पूर्वखोला गाउँपालिकाको वासुका, सानो गल्धा, चापगैरा र बैछापमा पहिरोले सडक अवरुद्ध भएको छ । रम्भा गाउँपालिका १ असर्दीमा राम्दी रामपुर कालीगण्डकी लोकमार्ग पहिरोपछि ठप्प भएको छ ।
इसतै कालीगण्डकी नदीमा दाउरा संकलन गर्न गएका बगनासकाली गाउँपालिका–६ दरपुकका ४० वर्षीय गुरुबहादुर बोटे बुधबार देखि वेपत्ता छन् । खोजी कार्य भइरहेको जनाइएको छ ।
तस्बीर: कृष्ण पाेखरेल


















प्रतिक्रिया