प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राखेपछि प्रश्नको चौघेरोमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सत्ता समीकरणको अभ्यासमा दिनरात खटिरहेका छन् । खासगरी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसंग उनले निरन्तर छलफल गरिरहेका छन् ।
तत्काल कुनै परिणाम नदेखिएपनि दुई तीन हप्तामा मुलुकले निकास पाउने दाहाल निकट माओवादी केन्द्रका नेता एवम कर्णाली प्रदेशका सांसद ठम्मरबहादुर बिष्ट बताउँछन् । आफनो पार्टी माओवादी केन्द्रले मुलुकको नेतृत्व गर्ने उपयुक्त अवसर प्राप्त गरेको उनको भनाइ छ ।
अनलाइन पानासंगको कुराकानीमा नेता बिष्टले प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेराबन्दीमा परेर एक्लिएकाले अब माओवादी केन्द्रको भूमिकाले देशलाई निकास दिने बताए । उनका अनुसार कुनै दुर्घटना नभए दुई तीन हप्तामा भित्र माओवादी केन्द्र, जनता समाजवादी र कांग्रेस गठवन्धनको सरकार बन्ने छ ।
सर्वोच्चको फैसलाले माओवादी केन्द्र समेत व्युँतिनु आफूहरुका लागि अवसरसमेत भएको बताउँदै उनले अब मोहन बैद्य, बाबुराम, विप्लव, गोपाल किराँतीहरु समेत पार्टीमा फर्किने वातावरण तयार भएको बताए ।
बिष्ट भन्छन्, ‘माओवादीबाट मन्त्री बनेका रामबहादुर थापा, लेखराज, टोपबहादुर, प्रभु, मणिहरु पनि घर फर्किनेछन् । जुन दिन उनीहरुको पद गुम्छ, त्यही दिन उनीहरु माओवादी केन्द्रमा फर्किन्छन् ।’
तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले अस्वाभाविक कदम चाल्न सक्ने र त्यसले मुलुकलाई झन संकटमा पार्न सक्ने बिष्टको बुझाइ छ । ओली र प्रचण्डको विचार र सिद्धान्तमै ठूलो अन्तर देखिएकाले मुलुकको राजनीतिक धु्रवीकरणतर्फ गैरहेको छ । अब गणतन्त्र र परिवर्तनकारी शक्तिहरुबीचको एकता झन अपरिहार्य भएको उनको भनाइ छ ।
विस्तृत भिडियोमा :