नेकपा (माओवादी केन्द्र)ले देशभरमा आफ्नो पार्टी सदस्यहरुको संख्या ७ लाख नजिक पुर्याएको छ । कार्तिक २५ गते बिहीबारसम्म नयाँ सदस्यता तथा नविकरणको अन्तिम दिन तोकेको माओवादीको सदस्य संख्या ७ लाख नजिक रहेको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिएका हुन् ।
शनिबार अनलाइनपानासँगको कुराकानीका क्रममा प्रवक्ता महराले पौने ७ लाखको हाराहारीमा सदस्यता इन्ट्री भएको जानकारी दिए ।
सत्ता साझेदार दलको रुपमा रहेको नेकपा गत भदौदेखि देशभर नयाँ सदस्यता वितरण तथा पुरानाको नवीकरणलाई तीव्रता दिएको थियो । गत भदौ ५ र ६ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकले प्रदेश तथा जिल्ला नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरी सदस्यताहरुलाई व्यवस्थित गर्न निर्देशन दिएको थियो ।
तीन महिनाको अवधिमा थपिएका सदस्यहरुको संख्यालाई हेर्दा माओवादीप्रतिको आकर्षण बढेको दाबी प्रवक्ता महराको रहेको छ ।
बागमती प्रदेशमा सबैभन्दा बढी सदस्य थपिएको बताएका महराले एक वर्षमा पार्टीको सदस्य संख्या ३० लाख पुर्याने लक्ष्य राखेको बताए । केही दुर्गम ठाउँहरुबाट फारमहरु आउने क्रम जारी रहेकोले केहीदिनमा सदस्यताको विवरण डिजिटलाइज्ड गरिसकेपछि पार्टी सदस्यको विस्तृत संख्या थाहा हुने समेत उनको भनाइ रहेको छ ।
माओवादी केन्द्रले मंसिर ४ गते वडा अधिवेशनको मिति तोकेको छ भने पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलनको तयारी गरेको छ । हाल देशव्यापी रुपमा भेला र प्रशिक्षणहरु सञ्चालन गरिरहेको छ । पार्टीका जिल्ला तथा नगरपालिका स्तरका भेला तथा प्रशिक्षणहरुमा अध्यक्ष प्रचण्ड आफैं सहभागी हुने गरेका छन् ।


















प्रतिक्रिया