Logo

प्रमुख समाचार

धर्नामा बसेका कानुन व्यवसायीको खोसियो माइक



प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले मंगलबार पनि सर्वाेच्च अदालतको गेटमा धर्ना दिएको छ । 
धर्नामा सम्बोधन गर्न लागेका कानुन व्यवसायीको माइक प्रहरीले खोसेको हो । 

दुई साताभन्दा बढी समयदेखि बार निरन्तर आन्दोलनमा छ । तर, आइतबारदेखि प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक्ने उद्देश्यले गेटमै बारले धर्ना दिँदै आएको छ । 

बारको धर्नालाई छलेर आइतबार र सोमबार प्रधानन्यायाधीश जबरा कार्यालय प्रवेश गरेका थिए । 

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर बार र सहकर्मी न्यायाधीश आन्दोलनमा उत्रिएका हुन् । सोमबार प्रधानन्यायाधीश जबराले संवाद र वार्तामार्फत समाधान खोज्न गरेको आह्वानलाई बारले अस्वीकार गरेको छ । 

बन्दमा पनि रोकिएन नेपाल बारको आन्दोलन, सर्वाेच्चमा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ ।

२३ दिनदेखि आन्दोलनरत बारले आज मंगलबार बिहान सर्वाेच्च अदालतमा धर्ना सुरु गरेका छन् । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो । 

प्रधानन्यायाधीश जबराले साेमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए । तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दाेलनलाई निरन्तरता दिएकाे छ ।

सर्वाेच्चका न्यायाधीश पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित इजलासमा बसेका छैनन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलवार ११:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।