पछिल्लो समय नयाँ सरकार निर्माणको लागि दलहरुको रस्साकस्सी चलिरहेको छ । नयाँ सरकार निर्माण गर्ने वा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँगै सहकार्य गर्ने भन्नेमा दलहरुमा नेतृत्वदायी नेताहरुका गुटैगुट निर्माण भएका छन् । जसले गर्दा सत्ता समीकरण कस्तो बन्ने र अबको सरकार कसको नेतृत्वमा रहने भन्ने बारेमा राजनीतिक विश्लेसक समेत अन्यौलमा छन् ।
सर्वोच्च अदालतबाट तत्कालीन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई अवैध रहेको फैसला सहित एमाले र माओवादी केन्द्र व्युँतिएपछि नयाँ सरकार निर्माणमा निर्णायक मानिएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र अर्को दल जनता समाजवादी पार्टीभित्रै स्पष्ट दुई गुटको विभाजन रहेको कारण यी दुई दलले निर्णायक शक्तिका रुपमा आफूलाई उभ्याउन सकेका छैनन् । प्रतिपक्षी काँग्रेसले वर्तमान सरकारको सबैभन्दा बढी विरोध गर्ने माओवादी केन्द्रले सरकारलाई अहिलेसम्म पनि समर्थन गरिरहेकोले तत्काल टाउको नदुखाउने बताएको छ । जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराईको धार काँग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने सोचमा देखिन्छ भने महन्थ ठाकुर र राजेन्द्र महतोको धार ओली नेतृत्वको वर्तमान सरकारमै सहभागी भएर आफ्ना मुद्दाहरु स्थापित गराउनुपर्ने सर्तमा रहेको छ ।
नयाँ सत्ता समीकरण निर्माणमा सहयात्री बन्न जसपाका दुवै गुटले जेल जीवन विताइरहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइलाई पहिलो सर्त बनाएका छन् । चौधरीसहित हिरासतमा रहेका सबै कैदी बन्दी विरुद्धका झुटा मुद्दा फिर्ता हुनुपर्ने, मधेसी जनतालाई अधिकार सम्पन्न गराउने गरी संविधानको पुनर्लेखन गर्नुपर्ने लगायतका मागमा सहमति गर्ने दलहरुको साथमा सत्ता सहयात्री बन्न सकिने जसपाको सर्त रहँदै आएको छ । तर धेरैले जसपाको यो मागलाई सत्ता हत्याउने भ¥याङका रुपमा पनि अर्थ लगाएका छन् । जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका क्रममा दलहरुले गरेका प्रतिवद्धता अनि अहिले जनताको अवस्थाका बारेमा जसपाका केन्द्रीय सदस्य राजेश विद्रोहीसँग अनलाइनपानाले विस्तृत कुराकानी गरेको छ ।
भिडियोमा हेर्नुहोस् :