Logo
अन्तर्वार्ता

आपराधिक मुद्दालाई राजनीतिक लेनदेनको विषय बनाउनु हुँदैन (भिडियो सहित) 


नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको निर्णय गरेपनि त्यस अनुसार काम हुन सकेको छैन । मुख्यतः जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले रुचि नदेखाएकाले नयाँ गठबन्धन निर्माणमा ढिलाइ भएको हो ।

कांग्रेस नेता एवम पूर्वमन्त्री अमरसिंह पुन भन्छन् ‘यसलाई ढिलो भयो भन्न मिल्दैन । बैठकहरु चलिरहेका छन् । कांग्रेस पनि आन्तरिक छलफलमा छ । कांग्रेसको नेतृत्व स्वीकार गर्न माओवादी केन्द्र र जसपालाई कुनै समस्या छैन । जसपाले पनि हिजो संसद् बिघटनविरुद्ध संघर्ष गरेकै हो । ओली सरकारलाई हेर्ने दृष्टिकोण हाम्रो समान छ ।’

पुनका अनुसार प्रधानमन्त्री ओली र जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोको शक्ति केन्द्र एउटै देखिन्छ । शक्ति केन्द्रले दुवैलाई मिल्न दवाव दिएको छ । विदेशी इशारामा बन्ने गठबन्धन र विदेशीको इशारामा चल्ने नेताहरुका कारण मुुलुक र जनताले दुःख भोगिरहेका छन् । 

जसपाले जे जस्ता माग राखेको छ, त्यो वार्ता र संवादबाट मुुलुकको नियम कानुनअनुसार पूरा गर्न सकिन्छ । तर, आपराधिक मुद्दालाई राजनीतिक लेनदेनको विषय बनाउनु हुँदैन । सरकारको नेतृत्व गर्ने सवालमा कांग्रेसमा कुनै विवाद छैन । ओली नेतृत्वको कम्युनिष्ट सरकारका कारण लोकतन्त्र र संविधान नै धरापमा परेकाले कांग्रेस मैदानमा उत्रिएको हो । संसदीय दलको नेता सभापति शेरबहादुर देउवा आफैं भएकाले उनले सरकारको नेतृत्व गर्नेछन् । यदि देउवाले चाहना नराखे उनले अरु कुनै नेतालाई पनि प्रस्ताव गर्न सक्छन् । 

पुन भन्छन्, ‘सभापति देउवा र वरिष्ठ नेता पौडेललाई भिडाएर फाइदा लिन खोज्नेहरु पनि देखिन्छन् । यो कुरा देउवा र पौडेलले पनि बुझेका छन् । हामीलाई विश्वास छ, दुवै जना देश, जनता र पार्टीको हितभन्दा बाहिर जानु हुन्न । जहाँसम्म देउवालाई सिध्याउन प्रधानमन्त्री बन्न पौडेलले दवाव दिएको कुरा छ, त्यो गलत हो । देउवा प्रधानमन्त्री हुँदा उनलाई आउँदो महाधिवेशनमा पुनः सभापतिमा प्रतिष्पर्धा गर्न सहज हुन्छ । पौडेलले सरकारको नेतृत्व गर्न दवाव दिनुको अर्थ ओलीबाट लोकतन्त्र र संविधानमाथि खतरा देखेर हो । ’

नेपालका कम्युनिष्टले जनताको अभिमतको कदर गर्न नसकी मुलुकलाई भड्खालोमा हालेकाले कांग्रेस अग्रसर हुनु परेको हो । अब कांग्रेसले सरकारको नेतृत्व गर्दै चुनाव सम्पन्न गर्नुपर्छ । 
‘चुनावबाट दुई तिहाइ मत ल्याउँदै कांग्रेसलाई १ नम्बर पार्टी बनाउने हाम्रो लक्ष्य हो । ’ पुनले भने । 

विस्तृत भिडियोमा :