Logo

नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१ सम्पन्न



काठमाडौँ । शुक्रवारदेखि काठमाडौँको जमल स्थित सांस्कृतिक संस्थानमा जारी नवौँ नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आइतबारबाट सम्पन्न भएको छ ।
 
महोत्सवमा यो वर्ष वृत्तचित्र तर्फ गणेश पाण्डे निर्देशित तथा शारदा गैरे निर्मित बहु पति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान्’ (को हजबेन्ड) उत्कृष्ट भएको छ । यो वृत्तचित्र हिमाली भेकमा बसोबास गर्दै आएका शेर्पा समुदायका महिलाहरूमा जारी बहु पति प्रथामा केन्द्रित थियो ।

यस्तै महोत्सवमा कथानक चलचित्र तर्फ हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित चलचित्र ‘आमा’ उत्कृष्ट भएको छ । आमा बृद्धा आमा बुबालाई वृद्धाश्रममा राख्नेहरूको कथामा यो चलचित्र आधारित थियो ।

यस्तै यो वर्ष डक्युड्रामा तर्फ माधवराज खरेल निर्मित एवम् निर्देशित बृत्तचलचित्र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएको छ । यो वृत्त चलचित्रमा सुदूरपश्चिममा अझै कुप्रथाको रूपमा रहेको छाउपडी समस्यामा आधारित थियो ।

यी तीन वटै उत्कृष्ट चलचित्रलाई जनही ५ हजार रुपैयाँ सहित आदिम पुरस्कार प्रदान गरिएको छ । अभिनेता प्रदीप बास्तोला, सञ्चारकर्मी जीवन पराजुली, गायिका सरिता भारतीसहित पाँच जनाको निर्णायक टिमले उत्कृष्ट चलचित्रको चयन गरेको थियो ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनद्धारा आयोजित नवौँ संस्करणको महोत्सव समापन समारोहमा नेपालका निमित्त अफ्रिकी मुलुक इथियोपिया कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए । यो महोत्सवले नेपालमा अफ्रिकालाई सिनेमाबाट चिनाउन ठुलो सहयोग पु¥याएको उनले बताए ।

चलचित्र निर्देशक तथा सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले समापन समारोहमा पुरस्कार प्रदान गर्दै नेपाली भन्दा अफ्रिकन फिल्महरू धेरै माथि भएकाले हामीले उनीहरूको फिल्मबाट धेरै सिक्ने अवसर पाएको बताए ।

आइतबार नै महोत्सवमा नेपाली र अफ्रिकन चलचित्रका चुनौतीबारे बहस भएको थियो । सो बहसमा राजेश थापाले नेपाली चलचित्रको विगत देखि अहिलेसम्मको अवस्था चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
 
यस्तै अर्का निर्देशक मनोज पण्डितले अफ्रिकनको तुलनामा नेपाली चलचित्र र नेपाली चलचित्रका समस्याबारे कार्यपत्र प्रस्तुत गरे ।

सो अन्तरक्रियामा गणेश खनियाँले अफ्रिकाको जीवनशैली, सिनेमा, नेपाल र अफ्रिकाको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

महोत्सवबाट आफूहरूले निरन्तर नौ वर्षदेखि नेपाल अफ्रिकालाई जोड्ने कार्य गरेको आयोजक संस्था कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी अध्यक्ष डा. मञ्जु मिश्रले समापन समारोहमा बताइन् ।

महोत्सव निर्देशक डब्बु क्षत्रीले कोरोनाको महामारी बिच पनि सामाजिक दुरी कायम गरेर आफूहरू महोत्सव सम्पन्न गर्न सफल भएको बताए । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शुक्रवार उद्घाटन गरेको यो महोत्सवमा नेपालमा ७ वटा र अफ्रिकामा ८ वटा चलचित्र प्रदर्शन गरियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आईतवार २०:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।