Logo

one

घाटामा रहेको एनएमबी लघुवित्त चरम संकटमा



काठमाडौं । संचालकहरुको कमजोरीका कारण एउटा ठुलो लघुवित्त वित्तीय संस्था धरासायी हुने अबस्थामा पुगेको छ । एनएमबी लघुवित्त वित्तीय संस्था नामको लघुवित्त कम्पनी एनएमबी बैंकको प्रत्यक्ष हस्तक्षेप तथा संचालकहरुको खराव नियतका कारण धरासायी अबस्थामा पुगेको हो । एनएमबी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा यस संस्थाको २०६९ सालमा स्थापना भएको थियो ।

एनएमबी लघुवित्तको अधिकांश सूचांकहरुले लघुवित्त कम्पनी डुव्ने अबस्थातिर पुगेको देखाएका छन् । फलस्वरुप चालु आवको पहिलो त्रैमासमा एनएमबी लघुवित्तले ८० लाख १० हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । यस लघुवित्तले गत आर्थिक वर्षमा कम्जोरी लुकाउन जबरजस्त रुपमा ५ करोड १५ लाख रुपैयाँ नाफा देखाएको थियो ।

सो लघुवित्तको चुक्ता पुँजी ६५ करोड ५८ लाख रुपैयाँ रहेको छ । कम्पनीमा एनएमबी बैंकको ५१ प्रतिशत तथा अन्य संस्थापक व्यक्तिको १९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

लघुवित्त संस्थाले चालु आबको पहिलो त्रैमासिक अवधिमा वित्तीय संस्थाको कारोबार मौज्दात, आम्दानी र तरलताको अभाव झेल्नु परेको बाध्यकारी रिपोर्ट सार्वजनिक गरेको छ । यस कम्पनीको चालु आवको पहिलो त्रैमासमा संस्था घाटामा जान थालेसँगै प्रमुख कार्यकारी अधिकृतमा रहेका आनन्द पाण्डे तनावका बीच लामो विदामा बसेका छन् । संस्थाको पछिल्लो पटक बसेको सञ्चालक समितीको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको पदमा बिरुराम जैशीलाई नियुक्त गरेको छ ।

पोखरा २५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले हिमाली, पहाडी र तराई क्षेत्रका ६८ जिल्लाहरुमा १ सय ४९ वटा शाखा तथा उपशाखाहरु सञ्चालन गरेको छ ।
करिब १ लाख २२ हजारलाई सदस्य बनाएको यस लघुवित्तको करिव २० प्रतिशत रकम जोखिममा छ । संस्थाको कुल ऋणीको संख्या ४३ हजार २ सय २२ रहेका छन् । उक्त लघुवित्तले चर्को रुपमा लगानीयोग्य रकमको अभाव झेलीरहेको छ । जसका कारण संस्थाले लामो समयदेखि कसैलाई पनि कर्जा दिन सकेको छैन । जथाभावि कर्जा प्रवाह गरेका कारण यस लघुवित्तको कर्जामा समस्या उत्पन्न भएको छ ।

संस्थाले वितरण भएको कर्जा फिर्ता ल्याउन सकेको छैन । संस्थामा विवाद उत्पन्न भएसँगै फेरि पनि एनएमबी बैंककै ठाडो हस्तक्षेपमा निमित्त प्रमुख कार्यकारी अधिकृतको पदमा बिरुराम जैशीलाई नियुक्त गरिएको छ । उनी एनएमबी बैंकका प्रदेश प्रमुख पदमा रहेर काम गर्दै आएका बैंकका कर्मचारी हुन् । यसअघि पनि एनएमबी बैंकको प्रत्यक्ष हस्तक्षेपमा लघुवित्तलले कर्जा प्रवाह गर्नुपरेको थियो ।

कर्जा प्रवाहमा संचालकको ठाडो निर्देशनले यस अघि कर्मचारीहरु हैरानी हुने गरेका थिए । कर्जा प्रवाह वा कुनै पनि कार्यमा संचालकको निर्देशन राष्ट्र बैंकको नीति विपरीत मानिन्छ । हाल उक्त लघुवित्तमा सञ्जीव सुब्बा अध्यक्ष छन् । बैंकका तर्फबाट रोमानी प्रसाद पाठक प्रतिनिधि संचालक छन् भने गोविन्द घिमिरे र दिनेश दुलाल पनि बैंककै प्रतिनिधिका रुपमा संचालक छन् । त्यसबाहेक जितेन्द्र बाहेती, सविता सापकोटा संचालक र सूर्यबहादुर थापा कम्पनी सचिव रहेका छन् ।

संस्थाको व्यवस्थापन टिममा आनन्द पाण्डे सिइओ, बिरुराम जैशी डि–सिइओ तथा प्रवीण प्रजापति, कमल पोखरेल, भुवनेश्वर फुलारा, प्रेम प्रसाद सुवेदी, ललित किशोर भट्ट, प्रकाश रावल, पूरण चापागाईं र विशाल बाँस्तोला उच्च व्यबस्थापन टिममा छन् । तथापी सिइओ आनन्द पाण्डे र केही उच्च व्यबस्थापन टिमले भने लघुवित्त संस्था छाड्ने तर्खर गरेका छन् । यस अघि केही कर्मचारीले काम गर्न समस्या भएको भन्दै संस्था छाडेका थिए ।

प्रकाशित मिति : ५ पुष २०७९, मंगलवार २३:२७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।