काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिबाटिकामा पनि आन्दोलनको कार्यक्रम गर्न नपाउने गरी रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिबाटिकामा धर्ना दिँदै आइरहेका मिटरब्याज पीडितहरु र आरती साहका आमाबुबालाई समेत शान्तिबाटिकाबाट हटाउन लागेको हो ।
प्रहरी वृत्त दरबारमार्गका डिएसपीकाे टाेलीले बिहीबार पीडितहरुलाई ठाँउ खाली गराउन आदेश दिएकाे थियाे । प्रहरीले उनीहरुलाई शान्तिबाटिकाबाट हटाउन लागेपछि पीडितहरुले प्रदर्शन गरेका छन् । आज बिहान उनीहरुले शान्तिबाटिकामा प्रदर्शन गरेका थिए। सीडीओ कार्यालयले माइतीघरमा समेत आन्दाेलन गर्न नपाउने गरी निषेधाज्ञा लगाएकाे छ ।
शान्तिपूर्ण प्रर्दशन गर्ने लोकतान्त्रिक परिधीमा निषेधाज्ञा लगाएर सरकारले अधिनायकवादी चरित्र देखाइरहेको उनीहरुको आरोप छ । यस्तै मिटर ब्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समितिले विज्ञप्ति जारी गरेको छ । शान्तिपूर्ण आन्दोलन गरिरहेको पीडितहरुलाई हटाएर सरकार सुदखोरको प्रभावमा परेको आरोप उनीहरुको छ ।
मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपाल विगत ३८ महिनादेखि निरन्तर आन्दोलनरत छ । गत चैत्रको २० गतेदेखि काठमाडौं स्थित शान्तिवाटिकामा निरन्तर धर्ना दिएकाे संघर्षसमितिले अहिले पनि मिटर ब्याज विरुद्ध गृहमन्त्रालयको ध्यानाकर्षका लागि जनसंघर्षका कार्यक्रमहरु गरिरहेकाे छ ।
विज्ञप्तिमा भनिएको छ,‘हामीले आफ्ना मागहरुलाई ६ बुँदामा तयार गरेका थियौं । ती ६ बुँदे मागसहित वार्तामा बसेका थियौँ । तर सरकार पक्षले मिटर ब्याज समस्याको यथोचित समाधानका लागि सकारात्मकता नदेखाएपछि हामीले वार्ता भङ्गको घोषणा गरी संघर्षलाई निरन्तरता दिएका हौं । विभिन्न ४२ जिल्लामा हाम्रो संघर्षको कार्यक्रम निरन्तर चलिरहेको छ । केन्द्रिय अभियानको रुपमा काठमाडौँ स्थित शान्तिवाटिकामा धर्ना भइरहेको छ ।’
तस्बिरहरू :























प्रतिक्रिया