Logo

आजको तस्बिर

‘भ्यालेन्टाइन डे’मा प्रेम जोड्ने गुलाब [तस्बिरहरू]



काठमाडौं- नेपालमा पनि ‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रेम दिवस’ मनाइँदै छ। आज १४ फेब्रुअरीका दिन विभिन्न कार्यक्रमको आयोजना गरी प्रेम दिवस मनाइँदैछ।

पश्चिमा देशमा मनाइँदै आएको ‘भ्यालेन्टाइन डे’ पछिल्लो समयमा नेपालमा पनि मनाउन थालिएको हो। साताव्यापी मनाइने भ्यालेन्टाइन डे युवा पुस्तामा लोकप्रिय छ।

आफन्त होस् वा मन परेको मानिस आफ्नो नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदानप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलमा एसएमएस गरी पनि ‘भ्यालेन्टाइन डे’ मनाउने चलन छ।

प्रेम व्यक्त गर्नका लागि प्रयोग गरिने सामान खरिद गर्न गिफ्ट पसलहरूमा युवायुवतीहरूको भीड देखिन्छ। काठमाडौंका हरेक रेस्टुराँदेखि पसल सजिसजाउ गरिएका छन्।

युवा पुस्तामा ‘भ्यालेन्टाइन डे’ को लोकप्रियता बढेसँगै यो दिवस हप्ताभरि मनाउने गरिएको छ। फेब्रुअरी ७ मा ‘रोज–डे’ बाट सुरु हुन्छ। गुलाफ दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, टेडी दिने, वाचा गर्ने, अँगालो ‘हग’ गर्ने र आखिरमा प्रणय दिवस मनाइने गरिन्छ।

‘भ्यालेन्टाइन डे’ मनाउँदा एक अर्कालाई सप्ताहव्यापी रूपमा नै महँगो उपहार दिने चलन बनेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ।

एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कुल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नु परेको बताए। माग अनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उनको भनाइ छ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ०८:३२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।