Logo

आजको तस्बिर

सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी [तस्बिरहरू]



काठमाडौं- आज माघ शुक्ल पञ्चमी, अर्थात् श्रीपञ्चमी। विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ।

आज बिहानैदेखि स्नान गरी सरस्वती मन्दिरमा गई पूजा आराधना गर्नेहरूको भीड लागेको छ। काठमाडौं उपत्यकासहित देशभरका सरस्वती र देवी मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नेहरूको उल्लेख्य भीड रहेको छ। विभिन्न विद्यालयमा पनि विद्यार्थीहरूले सरस्वती पूजा गरिरहेका छन्।

वैदिक सत्य सनातन धर्मावलम्वीहरूले आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरेर वसन्त पञ्चमी मनाउँछन्। वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमीको नामले समेत चिनिन्छ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्दछन्।

वसन्त ऋतुको सुरुवात हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने विश्वास छ। विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ।

आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ। आजको दिन आफैँमा शुभ हुने भएकाले विवाह, व्रतबन्धलगायत सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने ज्ञाताहरू बताउँछन्। यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ। उपत्यकाका स्वयम्भूनाथ, मैतीदेवी, गैह्रीधारास्थित नील सरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा हुने गर्दछ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ११:५६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।