Logo

आजको तस्बिर

३४ वर्ष मौनता साधेका भजन शिरोमणिको माया लागेर आउँछ…



काठमाडौं- नेपाली सांगीतिक क्षेत्रको एउटा चम्किलो नक्षत्र हामी माझबाट सदाका लागि अस्ताएको छ। वरिष्ठ गायक तथा संगीतकार भनज शिरोमणि भक्तराज आचार्य संसार त्याग्दै सोमबार ८२ वर्षको उमेरमा हामी माझबाट परलोक लिन भए। आज अन्तिम संस्कारअघि आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको छ।

काठमाडौंको सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पुगेर आचार्यको पार्थिव शरीरमा थुप्रैले श्रद्धाञ्जली अर्पण गरेका छन्। भजन शिरोमणि आचार्य हामी सबैका प्रिय गायक हुन्। नेपाली सांगीतिक क्षितिजलाई चम्किलो पार्न उनले ठूलो भूमिका निर्वाह गरेका छन्। त्यसैले त उनको सम्झनामा सबैले भनिरहेका छन् प्रिय भजन शिरोमणि हामीलाई तिम्रो माया लागेर आउँछ…।

उनको जीवन निकै संघर्षपूर्ण छ। एकापट्टी उज्यालो हुँदा अर्कोपट्टी अध्यारो हुन्छ। भजन शिरोमणिको जीवनको आरोहअवरोह पनि त्यस्तै छ।

पिता बलभद्र र माता रेनुकाको कोखबाट वि.सं. १९९९ असोज १६ मा जन्मिएका भजन शिरोमणिले २०४६ सम्म करिव चार सय गीतमा स्वर भरिसकेका थिए। २०४६ मंसिर १९ गते आचार्यको आवाज खोसियो। जीवनमा अकल्पनीय बज्र प्रहार भयो।

एक जना गायकका लागि आवाज गुम्नुभन्दा ठूलो पीडादायी क्षण अरु के नै हुनसक्छ र? स्वर गुम्दाको मथिङ्गल कस्तो भयोहोला?, कहाली लाग्दो जीनको पीडातित् अतित‍्को कल्पना हामी सहजै गर्न सक्छौं।

२०४६ सालमा म‌ंसिर १९ गते आचार्यमाथि काठमाडौंको बौद्धस्थित ‘छिरिङ रेस्टुरेन्ट’ मा सांघातिक आक्रमण भयो। आक्रमणमा परी आचार्य शक्त घाइते भए। उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइयो। अस्पताल पुर्‍याउँदा उनको अवस्था निकै नाजुक थियो।

अप्रेसनपश्चात् आचार्य निको भए। तर, जिब्रोमा देखापरेको सेतो दागले उनलाई क्यान्सर रोगी बनाइसकेको रहेछ। अन्तत: २०५० साल असोज ११ गते दिल्लीस्थित एम्स अस्पतालमा उनको जिब्रो काटियो।

आक्रमणका कारण उनको टाउकोमा मात्रै सयजति टाँका लगाइयो। त्यो पनि १२ दिनसम्म आचार्यको अप्रेसन हुन सकेन। कवि/गीतकार राममणि रिसालले अति नै अनुनय गरेपछि बल्ल डा. उपेन्द्र देवकोटाले उनको अप्रेसन गरेका थिए। अप्रेसन किन यति ढिलो भयो? त्यो पनि खोज र चिन्ताकै गर्भमा छ।

अप्रेसनपश्चात् आचार्य निको भए। तर, जिब्रोमा देखापरेको सेतो दागले उनलाई क्यान्सर रोगी बनाइसकेको रहेछ। अन्तत: २०५० साल असोज ११ गते दिल्लीस्थित एम्स अस्पतालमा उनको जिब्रो काटियो। त्यसको ६ वर्षपछि कनकमणि दीक्षित र जर्मनीका लागि तत्कालीन नेपाली राजदूत नोबलकिशोर राईको पहलमा जर्मनीमा उनको जिब्रो प्रत्यारोपण त भयो तर उही पुरानो लय, सुर र तालमा गायक बनेर फर्कन सकेनन्।

हुन त उनको बाल्यकाल पनि कहाँ सुखद छ र? आचार्य डेढ वर्षको हुँदा पिता बलभद्रको निधन भयो। त्यसपछि आमा रेनुकासँग उनी भारतको डुवर्स बसाइँसरेर गए। आमाले जसोतसो दु:ख गरेर उनलाई हुर्काइन्, बढाइन्। युवावस्थाको जीवनको ठूलो समय पनि उनका लागि सुखद रहन सकेन।

उनले छोटो समयमा मुटु जलिरहेछ, जति चोट दिन्छौँ, हजार सपना, माया मेरी साँझ बनी, जीवन भन्नु त घात छ, यहाँ जिन्दगीलेलगायत झण्डै चार सय गीतमा आवाज दिएका छन्।

तन मन वचनले, प्रभु नामसहित दर्जनौं लोकप्रिय भजनहरू गाएर भजन शिरोमणीको उपाधि प्राप्त गरेका आचार्यका आधुनिक गीत पनि उत्तिकै लोकप्रिय रहेका छन्। आधुनिक शैलीका गीत र भजनबाट उनलाई विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित गरिएको थियो।

उनको सबै भन्दा ठूलो सम्मान भनेकै भजन शिरोमणीको उपाधि प्राप्त गर्नु हो। उनलाई पद्मश्री पुरस्कारबाट पनि पुरस्कृत गरिएको थियो। उनलाई गोरखा दक्षिण बाहु पदकबाट पनि सम्मानित गरिएको थियो। उनी गोरखा दक्षिणबाहुसँगै त्रिशक्ति पट्ट (पहिलो), विरेन्द्र–ऐश्वर्या सेवा पदक, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, राष्ट्रिय संगीत सम्मान २०७५ सँगै विभिन्न समारोहहरूमा लाईफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुन सफल भएका थिए।

आचार्यको जीवनीमाथि ‘आचार्य’ नामक नेपाली फिल्म नै बनेको छ, जसमा भक्तराज आचार्यको जीवनका हरेक उतार–चढावको बारेमा देखाइएको छ। उक्त फिल्ममा सत्यराज आचार्यले नै भक्तराज आचार्यको भूमिका निर्वाह गरेका छन्। उनले नेपाली सांगीतिक क्षेत्रलाई सत्यराज–स्वरूपराज आचार्य जस्ता गायक छोरा उत्तराधिकारीको रूपमा दिएका छन्।

कालजयी गीतका श्रष्टा आचार्यको निधनले यतिबेला नेपाली सांगीतिक क्षेत्र शोकाकूल बनेको छ। हरेक नेपाली स्रोताले उनलाई कहिले बिर्सने छैनन्। भजन शिरोमणिको भौतिक शरीर यो संसारमा नरहे पनि उनका कालजयी गीत/संगीत युग युगान्तसम्म यस धरामा गुन्जीरहने छन्। भजन शिरोमणिप्रति हार्दिक श्रद्धा सुमन।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १३:४९   :  बजे

510
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।