Logo

कालीगण्डकी करिडोरमा खण्डमा सुख्खा पहिराे पाँच जना मजदुरहरूको मृत्यु ,२ घाइते



कालीगण्डकी करिडोर अन्तरगत नवलपुर खण्डमा सुख्खा पहिराे खसेकाे छ । पहिराेमा पुरिएर पाँच जना मजदूरको मृत्यु भएको छ । नवलपुरको बुलिङ्टार गाउँपालिकामा पर्ने सडक खण्डमा पहिराे गएकाे र त्यहाँ कार्यरत पाँच जना मजदुरहरूको मृत्यु भएको जनाइएकाे छ ।मजदूरहरू सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला बुधबार साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका हुन्  ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मृत्यु हुनेमा सबै बुलिङ्टार– ४ का रहेका छन् । जसमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ ।

पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएकाे र उनीहरुलाई करिडोरमै कार्यरत अन्य मजदुरहरुले उद्धार गरेकाे प्रहरीकाे भनाइ छ  । हाल घाइते दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

पहिरामा पुरिएका पाँचै जनाकाे शव इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहायतामा निकालिएको थियो ।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार