Logo

राजनीति

राष्ट्रपतिलाई जनताकाे भन्दा नेकपाकाे यत्राे चिन्ता किन ?



राष्ट्रपति भनेको एउटा साझा संस्था हो । यस संस्थाप्रति सदैभ सिंगो देश र नेपाली जनताको आसा र भरोसा रहिरहन्छ । राष्ट्रपतिका निम्ति को आफ्नो को पराई भन्ने फरक नै हुँदैन । सबैप्रति बराबर दृष्टि रहन्छ र रहनु पनि पर्छ ।तर, केही समय यता राष्ट्रपति विद्यादेवी भण्डारको कार्यशैलीलाई लिएर अनेकौ टिक्का टिप्पणी र आलोचना हुन थालेको छ ।

यो हुनु भनेको नराम्रो कुरा हो । राष्ट्रपतिको विषयमा कुरा उठ्नु भनेको कुनै व्यक्ति विशेष भन्दा पनि सिंगो संस्थाको गरीमामाथि प्रश्न उठ्नु हो । पछिल्लो समय प्रमुख सत्तारुढ दल नेकपाको आन्तरिक कलहमा उनले देखाएको चासोले पनि उनीप्रति लागेको आरोपको सत्यता पुष्टि गर्र्न सजिलो भएको छ।

दुई अध्यक्षको टकराबले गर्दा फुटको संघारमा उभिएको नेकपालाई जोगाउन सोही पार्टीका उपाध्यक्ष बामदेब गौतम, गृहमन्त्री रामबहादुर बादललाई प्रत्यक्ष सम्पर्क गरेरै मिलाउन अग्रसर हुनु भन्नु उनको क्षेत्राधिकारभित्रको कुरो होइन ।

कोरोना महामारीको बेलामा सर्वसाधारण जनता खान नपाएर छटपटी हुँदा भने राष्ट्रपतिलाई कुनै चिन्ता छैन । सरकारले सहयोग गर्नु त परैजाओस् सहयोगी हातहरुले बेरोजगारीहरुलाई टुँडिखेलमा खाना खुवाउँदै आएको कार्य बन्द गर भन्दा राष्ट्रपतिले चासो राख्नुपर्ने होइन ?

जनताबाटै निर्वाचित भएको महानगरका पदाधिकारीलाई अब जनता चाहिदैन रु टुँडिखेलमा खाना खुवाउँदा महानगरलाई लाज भयो भनेर सुन्दा अचम्म लाग्छ । राष्ट्रपतिको प्राथमिकतामा पार्टीको काम पहिलो नम्बरमा आउँछ । राष्ट्रपति जस्तो सम्मानित पदका लागि यस्तो विषय उचित र शोभनिय होइन । राष्ट्रपति भण्डारी कुनै दल विशेषको मात्रै राष्ट्रपति जस्तो हुनु नेपालको लज्जाको विषय हो ।

राष्ट्रपति नेकपाका पूर्वसांसद हुन यसमा दुईमत छैन । तर राष्ट्रपतिमा निर्वाचित भएपछि उनको दलिय सदस्यता खारेज भईसकेको छ । उनलाई राजनीतिक गर्ने मोह छ भने राजीनामा दिएर दलमा सक्रिय हुन पाइन्छ ।राष्ट्रपतिबाट यस्ता कार्य पटक पटक भईरहँदा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेस चुपचाप बसेको देख्दै सबैलाई अचम्म लागेको छ ।

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार