Logo

English

अवैध रुपमा संचालित आरुष आयुर्वेद क्लिनिक शिल्ड: जिल्ला प्रशासनद्वारा एक लाख पचास हजार जरिवाना



काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका ८ मा अवैध रुपमा संचालित आरुष आयुर्वेदिक क्लिनिक शिल्ड गरिएको छ। आयुर्वेदिक उपचारको नाममा एचआईभी एड्स, क्यान्सर, हेपाटाइटिस जस्ता प्राणघातक रोग निको पार्ने औषधि भन्दै उक्त क्लिनिकले सयौं एचआईभी संक्रमितको स्वास्थ्यसँग खेलवाड गरेको भेटिएपछि जिल्ला प्रसासन कार्यालयले एक लाख पचास हजार रुपैयाँ जरिवाना गराएर बन्द गरेको छ। उक्त क्लिनिकले काठको धुलो जस्तो देखिने पाउडर बेचेर दिनहुँ सयौँ बिरामीबाट लाखौँ रुपैंया ठगिरहेको समाचार विभिन्न संचारमाध्यममा प्रकासित भएपछि प्रसासनले कानुनी कारबाही प्रकृया अघि बढाएको हो।

संचारमाध्यममा प्रकासित समाचार र उजुरीका आधारमा ललितपुर जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा पुगेको टोलीले आरुष आयुर्वेदिक क्लिनिकमा छापा मारी विभिन्न किसिमका औसधी तथा कागजात बरामद गरेको छ। बरामद गरिएका कागजात र जडीबुटी भन्दै बिक्रीवितरण भएका औसधीका हेर्दा यो गम्भीर प्रकृतिको रहेको सहायक सीडीओ घिमिरेले जानकारी दिएकी छन्।

सहायक सीडीओ घिमिरेलेले भनिन्, – ‘आरुष आयुर्वेदिक क्लिनिकमाथिको कारबाही प्रकृया अघि बढिसकेको छ। जसअनुसार हामीले यो अवैध रुपमा संचालित भएको भेटिएकाले प्रारम्भिक रुपमा १ लाख ५० हजार जरिवाना पनि गरिसकेका छौँ । उक्त क्लिनिकबाट बरामद गरेका औसधी बिल भौचरलगायत अन्य सामग्री औसधी विभाग लगायत सम्बन्धित निकायमा बुझाईसकेकाले यस क्लिनिकमाथि थप अनुसान्धान भई कारबाहीको प्रकृया चलिरहेको छ।’

यस आयुर्वेदिक क्लिनिकले स्वास्थ्यसम्बन्धी कुनै पनि आधिकारिक अनुमति लिएको छैन भने आयुर्वेद क्लिनिक भनेर जडीबुटी भन्दै औसधी बिक्री गरिरहेको छ तर आयुर्वेदमा दर्ता नै छैन घिमिरेले भनिन् ।

उक्त क्लिनिकका सञ्चालक अन्दाजी ७५ वर्षीय वृद्ध कृष्णप्रसाद पोख्रेल हुन्। पोखरेललाई आयुर्वेदिक क्लिनिक संचालन गर्ने र औसधि बिक्री वितरण गर्ने कुनै पनि कानुनी अधिकार छैन । न त उनी स्वास्थ्य क्षेत्रमा विज्ञ हुन् न औषधि तथा स्वास्थ्य सेवा प्रदान गर्ने कुनै कानुनी योग्यता पुगेका व्यक्ति। तर उनी आँफुलाई आयुर्वेदको रिसर्चर हुँ भन्दै खुलेआम प्राणघातक रोगको समेत उपचार गर्ने दावी गर्दै आईरहेका छन्।

प्रचलित कानुनअनुसार स्वास्थ्य सेवा दिन र कुनै पनि औसधिजन्य कारोवार गर्ने संस्था संचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने हुन्छ । तर, सामन्य कानुनी प्रक्रियासम्म पूरा नगरी आरुष आयुर्वेदिक क्लिनिकले निर्वाध रुपमा जडिबुटीजन्य औसधि भन्दै ‘अन सर्टिफाईड’ बस्तु मनपरी मूल्य लिएर वितरण गर्दै आईरहेको छ।

अझ रोचक कुरा त के छ भने, उक्त क्लिनिक सञ्चालन भएको सटरमै आशुष आयुर्वेद औषधालय नामक अर्को व्यवसाय पनि सञ्चालन भइरहेको छ । नवलपरासीको गैडाकोट नगरपालिका वडा नम्बर ११ निवासी लियन पौडेल को नाममा दर्ता गरिएको यो औषधालय पनि कृष्णप्रसाद पोख्रेलले नै संचालन गरिरहेका छन्। तर उक्त औषधालय संचालन गरेर सर्वसाधारणबाट ठगि गरेको रकम भने पौडेल र पोख्रेल मिलेर बराबरी भाग लगाउने गरेको श्रोतको बताउँछ ।

पौडेल र पोख्रेलको मिलेमतोमा यी क्लिनिकबाट एचआईभी एड्स , क्यान्सर , हेपाटाइटिस जस्ता प्राणघातक रोग निको पार्ने दावीसहित प्रतिबट्टा १० हजार रुपैंया देखि ५० हजार रुपैंयाँसम्म लिएर बिक्री गरिँदै आएको छ। प्राणघातक रोग निको पर्ने भनिएको उक्त काठको धुलो जस्तो देखिने बस्तुमा औषधिय गुण छ या छैन ? यसको सेवनले मानव स्वास्थ्यलाई सकारात्मक वा नकारात्मक कस्तो किसिमको असर पर्छ ? उक्त बस्तु कुन-कुन पदार्थ मिसाईएर तयार पारिएको हो ? यसको उत्पादन र प्रयोग समाप्ति मिति कहिलेसम्म छ ? यसको बिक्री मूल्य कति हो ? भन्ने जस्ता सामान्य तर अतिआवश्यक जानकारी सम्म छैन । उत्पादित बस्तुमा लेवल अनिवार्य राख्नुपर्ने कानुनी प्रावधानको छ तर यस नियमविपतित उक्त आयुर्वेद क्लिनिकले बिरामीहरुको स्वस्थामाथि खेलवाड गर्दै अनेक किसिमका आश्वासन दिएर ठगी गरिरहेको छ।

त्यस्तै, औषधालय सञ्चालन गर्न फार्मेसी काउन्सिलबाट अनुमति लिनुपर्छ । औषधि बिक्री वितरण गर्ने संस्था सरकारको नियमनमा रहनुपर्ने प्रावधान। तर, यस औषधालय कानुनी प्रक्रिया पूरा नै नगरी नियमविपरीत अवैध रुपमा सञ्चालन हुँदै आएको छ।

नेपालको औषधि ऐन, २०३५ अनुसार कुनै पनि व्यक्ति वा संस्थाले अनधिकृत रूपमा औषधि विक्री–वितरण गर्न पाईंदैन। स्वास्थ्य सेवासम्बन्धी व्यवसाय सञ्चालन गर्दा स्थानीय तह, स्वास्थ्य मन्त्रालय वा सम्बन्धित नियामक निकायबाट अनिवार्य अनुमति लिनुपर्ने कानुनी प्रावधान छ। तर उक्त फार्मेसी र क्लिनिकले विधमान कानूनको खिल्ली उडाउँदै निर्वाध रुपमा व्यापार गरिरहेको छ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार १२:४३   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।