सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) चालु आर्थिक वर्ष २०८१/८२ मा रु ४ खर्ब ३० अर्ब पुग्ने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ अनुसार प्रदेशको आर्थिक वृद्धि दर उपभोक्ता मूल्यमा ३.३२ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
प्रादेशिक जिडीपीमा सबैभन्दा ठूलो योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको रहेको छ, जसको हिस्सा ३४.७२ प्रतिशत छ। प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान भने ०.१३ प्रतिशतमा सीमित रहने अनुमान छ। गत वर्ष पनि यिनै दुई क्षेत्र क्रमशः सबैभन्दा धेरै र कम योगदान हुने सूचकमा रहेका थिए।
राष्ट्र बैंकका अनुसार समीक्षाधीन अवधिमा खाद्य तथा अन्य बाली, तरकारी, फलफूल र मसला बालीले ढाकेको क्षेत्रफल २.१६ प्रतिशतले बढेको छ भने कुल कृषि उत्पादन २.७७ प्रतिशतले वृद्ध भएको छ। तेलहन र आलु उत्पादन क्रमशः १८.८९ र १६.११ प्रतिशतले बढेको छ भने फापर उत्पादन ७७.८८ प्रतिशतले घटेको छ।
पशुपालन क्षेत्रमा माछा उत्पादन १०.३६ प्रतिशत, मासु ०.७९ प्रतिशत, ऊन ३.२७ प्रतिशत र अण्डा १.७६ प्रतिशतले वृद्धि भएको छ। कृषिमा प्रवाहित कर्जा ३ दशमलव ४१ प्रतिशतले घटेर रु १५ अर्ब ९६ करोडमा झरेको छ।
औद्योगिक उत्पादनमा माग घटेकाले क्षमता उपयोग ३४.४७ प्रतिशतमा सीमित भएको प्रतिवेदनले देखाएको छ। उद्योग क्षेत्रमा प्रवाहित कर्जा भने ४.३७ प्रतिशतले बढेर रु २६ अर्ब ७२ करोड पुगेको छ।
सेवा क्षेत्रले कूल कर्जाको ७२.८८ प्रतिशत हिस्सा उपयोग गरेको छ। प्रदेशमा घरजग्गा रजिष्ट्रेसन ३७.५० प्रतिशतले, रजिष्ट्रेसन राजस्व ३७.६२ प्रतिशतले तथा सवारी साधन दर्ता ३५ प्रतिशतले बढेको छ।
प्रदेश सरकारले चालु खर्चको ७५.६६ प्रतिशत र पुँजीगत खर्चको ६६.४७ प्रतिशत उपयोग गरेको प्रतिवेदनमा उल्लेख छ।




















प्रतिक्रिया