काठमाडाैं । मन्जुश्री फाइनान्स लिमिटेडले विभिन्न पाँच वटा माइक्रोफाइनान्सलाई दिएको झन्डै ५० करोड रुपैयाँ जोखिममा परेको छ। संस्थाबाट माईक्रोफाइनान्सलाई दिएको कर्जा तिनै माईक्रोफाइनान्स वित्तीय संकटमा परेपछि मन्जुश्रीको झन्डै ५० करोड रुपैयाँ जोखिममा परेको हो।
मन्जुश्री फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड , सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्थामा प्रवाह भएका कर्जा निष्क्रिय अवस्था पुगेपछि संस्था वित्तीय संकटमा परेको छ।
वित्तीय विवरणअनुसारविभिन्न संस्थाहरुमा प्रवाह गरेको कर्जा उठाउन नसक्दा मन्जुश्रीको मुख्य लगानी नै डुब्ने स्थिती सिर्जना भएको देखिन्छ।
मन्जुश्री फाइनान्सले नेरुडे लघुवित्तमा मात्रै प्रवाह भएको २९ करोड ९५ लाख रुपैयाँभन्दा बढी कर्जा उठाउन सकेको छैन । त्यस्तै छिमेक लघुवित्तलाई दिएको ७ करोडभन्दा बढी, सम्पदा लघिवित्तमा प्रवाह भएको ६५ लाखभन्दा बढी, ग्रामीण विकास लघुवित्तमाथि लगानी भएको २० करोड ८४ लाखभन्दा बढी र किसान लघुवित्तमा लगानी गरिएको १३ करोड ३८ लाख रुपैयाँभन्दा बढी कर्जा निष्क्रिय अवस्थामा छन् ।
उल्लेखित कम्पनीमाथि मन्जुश्रीले गरेको लगानीलाई नउठ्ने ठहर गरी कर्जाको वर्गीकरण अन्तर्गत ‘लस क्याटोगोरी’ मा राखी सत प्रतिशत प्रोभिजन गर्न राष्ट्र बैंकले निर्देशन समेत दिइसकेको छ। यसले फाइनान्सको नाफा प्रभावित बनेको देखिन्छ । जसअनुसार फाइनान्सको वित्तीय अवस्था दिनप्रतिदिन संकटउन्मुख बनिरहेको संस्थाकै वित्तीय विवरणले देखाएको छ।
उल्लेखित लघुवित्तहरु पाँच वर्षयता समस्यामा छन्। कतिपय लघुवित्तलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषण गरिसकेको छ भने कतिपयलाई राष्ट्र बैँकले अन्यसँग मर्ज गराउने तयारी गरिरहेको बताएको छ। वित्तीय विवरणअनुसार यो बर्ष संस्थाका लगानीकर्ताले समेत अपेक्षित लाभांश पाउने अवस्था देखिँदैन।
मन्जुश्री फाइनान्सले लगानी गरेका लघुवित्तका ऋणीहरु ऋण तिर्न असमर्थ भएको भन्दै आन्दोलनमै उत्रिएका छन्। त्यसमाथि ‘बीसलाखभन्दा कम ऋण भएकाहरुको ऋण मिनाहा हुन्छ’ भन्दै दुर्गा प्रसाईंले चलाएको अभियानले लघुवित्तहरुको लगानी संकटमा छ। यसको प्रत्यक्ष असर ती लघुवित्तमा लगानी गर्ने मन्जुश्रीजस्ता फाइनान्सहरु परेका छन्। जसका कारण मन्जुश्री फाइनान्सका ग्राहकको निक्षेप सुरक्षा जोखिममा परेको छ भने लगानीकर्ताको हात खाली हुने स्थित पैदा भएको छ।
त्यसमाथि यस क्षेत्रमा नियामक निकायको प्रभावकारी हस्तक्षेप नहुँदा संस्था र ग्राहक दुवै संकटमा पुगेका छन्। ऋण लिनु तर नतिर्नु, ऋण रकम सुरक्षाका लागि राखिएको धितो बिक्री नगर्नु , ऋणीलाई कालो सूचीमा पनि नराख्नु भन्दै अभियान नै चलाएर हिँड्ने प्रसाईंजस्ता अराजक तत्वहरुमाथि न नियामक निकायले उचित कदम चाल्न सकेको छ नत सरकारले । यसको असर मन्जुश्री फाइनान्स जो निरन्तर नफामा थिए , त्यस्ता संस्थामाथि समेत पर्दा डुब्ने अवस्थामा पुगेका छन् ।
याे पनि पढ्नुहाेस्
फरार ऋणीका कारण मन्जुश्री फाइनान्स संकटमा: अर्बौँ कर्जा डुब्ने खतरा





















प्रतिक्रिया