काठमाडौं । पछिल्लो निर्वाचन परिणामपछि नेपालको दोस्रो ठूलो दल नेकपा (एमाले) भित्र पुनः विभाजनको बीऊ रोपिएको चर्चा सुरु भएको छ। विहीबार सम्पन्न महाधिवेशनबाट खड्गप्रसाद शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि पार्टीभित्रको शक्ति सन्तुलन एकतर्फी बनेको विश्लेषण हुन थालेको हो।
महाधिवेशनमा अध्यक्ष ओली नेतृत्वको समूहले अधिकांश पदमा सहज जित हात पारेपछि इतर समूह अब कुन बाटो समाउने भन्ने विषयमा राजनीतिक वृत्तमा अड्कलबाजी तीव्र भएको छ। यदि ओलीले प्रतिस्पर्धी नेताहरुलाई समेट्नेभन्दा ‘पेलेरै जाने’ नीति अख्तियार गरेमा यही महाधिवेशन एमालेभित्र पुनः विभाजनको आधार बन्न सक्ने टिप्पणी समेत हुन थालेको छ।
नेताहरुबीच प्रतिस्पर्धा स्वाभाविक भए पनि प्रतिनिधिहरुले विवेक नपुर्याएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिन थालेको छ। अध्यक्ष पदका प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै ओली नेतृत्वमा पुगेका हुन्। कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका थिए। ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्दा पोखरेल ५६४ मतमै सीमित भए।
अध्यक्षसहित अधिकांश पदमा ओली र पोखरेल समूहले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए। पार्टीको अर्को महत्वपूर्ण पदमा पोखरेल पक्षबाट उम्मेदवार बनेका सुरेन्द्र प्रसाद पाण्डे पनि पराजित भए।
महासचिव पदमा ओली समूहका शंकर पोखरेल विजयी भए। उनले १ हजार २ सय २८ मत प्राप्त गर्दा पाण्डेले ९९९ मत पाए।
उपाध्यक्ष पदमा पाँचजना निर्वाचित हुँदा पोखरेल समूहबाट गोकर्णराज विष्ट मात्र विजयी बने। विष्टले १ हजार ३ सय ६८ मत पाए पनि उनको समूहका अन्य सबै उम्मेदवार पराजित भए। ओली समूहबाट पृथ्वी सुब्बा गुरुङ (१,७३७), विष्णुप्रसाद पौडेल (१,६७५), रामबहादुर थापा (१,५१६) र रघुजी पन्त (१,२५८) मतसहित निर्वाचित भए।
उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भए। भट्टले १,४५२, महासेठले १,३६८ र भट्टराईले १,३४८ मत पाए। यीमध्ये भट्टराई मात्र पोखरेल समूहबाट निर्वाचित भए।
सचिव पदमा नौजना निर्वाचित हुँदा सबै ओली समूहकै उम्मेदवार विजयी बने। महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यमलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल सचिवमा निर्वाचित भए।
महाधिवेशनबाट १९ मध्ये १७ पदाधिकारी ओली समूहबाट निर्वाचित भएको बताइएको छ। पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी बने। विभिन्न क्लस्टरबाट निर्वाचित केन्द्रीय सदस्य पदमा समेत ओली समूहकै वर्चश्व देखिएको छ।
विहीबार नै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भयो। यस पटक एमालेले विद्युतीय मतदान प्रणाली प्रयोग गरेकाले मतपरिणाम छिटो सार्वजनिक भएको जनाइएको छ।
यता, गत भदौ २३ र २४ गते भएको नवपुस्ता (जेन–जी) आन्दोलनबाट सत्ता गुमाएका ओलीलाई यो महाधिवेशनले ठूलो राजनीतिक राहत दिएको विश्लेषण भइरहेको छ। पुरानो पुस्तालाई विस्थापन गर्नुपर्ने जेन–जीहरुको मागबीच एमालेको चुनावी परिणामले भने नवपुस्तालाई नै झस्काएको टिप्पणी गरिएको छ।
जेन–जी विद्रोहको प्रभाव अन्य दलमा देखिए पनि एमालेले त्यसलाई चुनौती दिँदै गिज्याउने अवस्था सिर्जना गरेको राजनीतिक विश्लेषकहरुको भनाइ छ।


















प्रतिक्रिया