काठमाडौं । केही नेताहरु भ्रष्ट भएकै कारण राजनीतिक दल नै बद्नाम हुन पुगेका छन् । त्यसकारण दलहरुविरुद्ध स्वतन्त्र व्यक्तिहरु नयाँ पार्टी दर्ता गर्ने क्रम फस्टाएको छ । व्यापारी, पूर्वकर्मचारी र वकिलहरुले विभिन्न नामका दल खोलेर राजनीतिलाई व्यापार गर्ने थलो बनाउँदै लगेका छन् । त्यसले गर्दा राजनीतिभित्र विकृति, विसंगति र भ्रष्टाचार मौलाउँदै गएको छ । नयाँ दल खोल्ने व्यक्तिहरु कुनै चोखा छैनन् ।
हिजो जागिर खाँदा होस् अथवा व्यापार व्यवसाय गर्दा होस् कुनै न कुनै काण्डमा मुछिएका व्यक्तिहरु नै छन् । नेपालीहरुको छिटो बिर्सने बानी भएकाले अलिकति नयाँ अनुहार देख्नेबित्तिकै उनीहरु पुरै दूधले नुहाएको चोखोजस्तो लाग्ने मात्रै हो । बिनाविचार, बिनासिद्धान्त र बिनाभिजन व्यक्तिको सस्तो लोकप्रियताको आडमा खोलिएका नयाँ दलहरु देश र जनताको लागि झन् घातक बन्दै गएका छन् । त्यसको उदाहरण लिन सकिन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्रबाट काठमाडौंका मेयर बनेका बालेन शाहलाई ।
यता पुराना दलहरुले पनि देशलाई निकासा दिनको लागि कुनै नयाँ भिजन र योजना ल्याउन सकेका छैनन् । नेतृत्व परिवर्तनको लागि पुराना सबै दलहरु चुकिरहेका छन् । ती दलहरुभित्र नातावाद, कृपावाद र चाकडी चाप्लुसीले गर्दा पार्टी संगठनको लागि इमानदार कार्यकर्ताहरु सधैं ओझेलमा पर्दै आएका छन् । त्यसले गर्दा पार्टीका कार्यकर्तालगायत आमसर्वसाधारण जनता रुष्ट बनेका हुन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन त्यसको पनि एउटा कारण हो । सोही आन्दोलनबाट भौतिक, शहरी र ऊर्जामन्त्री बनेका पूर्वकर्मचारी कुलमान घिसिङले पनि नयाँ पार्टी खोलेर राजनीति व्यापार सुरु गरेका छन् । घिसिङ आफै कर्मचारी हुँदा भ्रष्टाचार गरी देशका विभिन्न ठाउँमा घरजग्गा जोड्नुका साथै अमेरिकामासमेत घर किनेको आरोप लागेका व्यक्ति हुन् ।
अहिले उनै पूर्व भ्रष्टकर्मचारी घिसिङ तीनवटा मालदार मन्त्रालयको मन्त्री भएपछि ‘कर्मचारीतन्त्र नसुघ्रिई देश बन्दैन’ भन्दै हिँडिरहेका छन् । उता, घिसिङ आफै नेपाल विद्युत् प्राधिकरणको दुई कार्यकाल कार्यकारी निर्देशक हुँदा विद्युतभित्रका कति कर्मचारीलाई सुधारे त ? भन्ने प्रश्न कर्मचारीहरुले गर्न थालेका छन् ।
घिसिङ मन्त्री भएको पनि तीन महिना नाघिसकेको छ । राष्ट्रिय गौरवका आयोजनाहरु घिसिङ भएयता अलपत्र परिरहेका छन् । तत्कालीन सरकारले विकास निर्माणको लागि छुट्याएको बजेट निर्वाचनको लागि खिचेपछि विकास निर्माणका काम अलपत्र परेका हुन् । अर्थमन्त्रालयले चुनावको लागि अन्यत्रबाट बजेटको जोहो गर्नुपर्नेमा विकास निर्माणको बजेट खिचेर तमासा देखाइरहेको छ । उता, ऊर्जामन्त्री घिसिङ भने विभिन्न आयोजनाको निरीक्षण गर्ने भन्दै देशदौडाहामा निस्किएका छन् ।
मन्त्री घिसिङले पार्टी खोलिसकेपछि चुनावी सरकारको मन्त्रीबाट राजीनामा दिएर पार्टी संगठनतिर लाग्नुपर्नेमा उल्टै बजेटि बिनाको राष्ट्रिय गौरवका आयोजनाहरुको अवलोकन गर्ने निहुँमा पुराना ठेक्का तोड्ने र नयाँ ठेक्का लगाएर कमिसन हात पार्ने योजनामा लागिपरेका छन् । घिसिङ भौतिकका विभिन्न काममा उर्दी दिने तर काम नगर्ने मन्त्रीको रुपमा गनिन थालेका छन् । बजेट अभावको कारणले भौतिकमा काम हुन नसकेको बताइरहँदा मन्त्री घिसिङ भने उदी दिँदै देश दौडाहामा हिँडिरहेका छन् । त्यसैले ऊर्जामन्त्री घिसिङको ताल ‘काम कुरा एकातिर कुम्लो बोकी थिमीतिर’ भनेजस्तै भएको छ ।


















प्रतिक्रिया