Logo

one

काठमाडौँको मुटुमा भारतीय व्यापारीको कर छलि साम्राज्य : एउटै परिवार, दर्जनौँ फर्म, राज्य मौन



काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रमा विगत लामो समयदेखि गार्मेन्ट्स, गार्मेन्ट्समा प्रयोग हुने कच्चा पदार्थ, ब्याग म्याटेरियल्स तथा कपडाको कारोबार गर्दै आएको भारतीय नागरिक पवन सर्राफ एण्ड सन्स समूहले राजस्व छलिको नयाँ मोडल अपनाएको तथ्य भेटिएको छ।

यस समूहले एउटै परिवारका सदस्यहरूको नाममा सयदेखि दुईसय मिटरकै दूरीभित्र विभिन्न सिस्टर फर्म खडा गरी व्यवहारमा ठूलो कारोबार गर्दै आएको छ। तर, यस समूहले यी फर्महरुको कागजमा न्यून कारोबार देखाएर आयकर र मूल्य अभिवृद्धि करसमेत छल्दै आएको तथ्य फेला परेको छ।

 

भारतीय नगरिक पवनकुमार सर्राफको नाममा दर्ता भएका धोलीसती ट्रेडर्स, उनका छोरा राहुल सर्राफको नाममा दर्ता कायम भएको श्री विनायक ट्रेडर्स, उनकै आरका छोरा रामानन्द सर्राफको नाममा जगदम्बा ट्रेडर्स तथा अर्का छोरा आशिष सर्राफ संलग्न अर्को फर्म गरी यश समूहका चारवटाभन्दा बढी व्यवसाय सञ्चालनमा छन्। यी सबै फर्म प्यानमा दर्ता गरिएका छन् । यी फर्महरुले वास्तविक कारोबारभन्दा निकै कम कारोबार देखाइ कर छली गर्दै आएको उनकै कम्पनीका कर्मचारीहरु नै बताउँछन्।

यस समूहले एउटै गोदामबाट सामान भण्डारण र वितरण गर्ने गर्दछ तर बिक्री भने फरक–फरक फर्मको नाममा देखाउँदै आएको छ।

स्थानीय एक व्यवसायीका अनुसार सर्राफ समूहले धेरैजसो अवस्थामा ग्राहकलाई बिल नै दिँदैन। यदि कोहि सचेत ग्राहकले बिल दिनुस् भनिहाले भने खाली पर्चामा हातैले लेखेर दिने गरेको छ। जसमा पनि आफूलाई अनुकूल पर्ने ग्राहकलाई मात्र प्यान बिल दिने गरेको गरिएको छ। यतिसम्म कि यस समूहका फर्महरुले कतिपय अवस्थामा प्यान बिल काट्ने र पछि च्यातेर नष्ट गर्ने गर्दै आएको स्थानीय व्यवसायीहरु बताउँछन् ।

त्यसैगरी यश समूहले गार्मेन्ट्समा प्रयोग हुने कपडाको कारोबार बढेसँगै अधिकांश सामान प्रायः अर्कै व्यक्तिको नाममा आयात गराउने, केही सामान स्वदेशी बजारबाट नगदमा खरिद गर्ने र त्यसको औपचारिक अभिलेख नै नराख्ने नियमविपरीतका काम गर्दै आएका छन् ।

आयकर ऐन, २०५८ अनुसार एउटै प्रकृतिको कारोबारलाई कृत्रिम रूपमा विभाजन गरी करको दायित्व घटाउनु गम्भीर अपराध हो। सोहि व्यवस्थाअनुसार वास्तविक कारोबार लुकाई गलत विवरण पेश गरेमा, कर छली गरेमा, बक्यौता कर, जरिवाना र ब्याजसहित असुली गर्न सकिने व्यवस्था छ।

त्यस्तै, मूल्य अभिवृद्धि कर ऐन, २०५२ले ग्राहकलाई बिल नदिई वस्तु तथा सेवा बिक्री गर्ने, भ्याटयोग्य कारोबार लुकाउने र गलत विवरण पेश गर्ने कार्यलाई दण्डनीय अपराध मानेको छ। गम्भीर अवस्थामा कारोबार बन्द, फर्म खारेजी र कैद सजायसमेत हुन सक्ने स्पष्ट कानुनी प्रावधान छ।

आन्तरिक राजस्व कार्यालयका एक अधिकारीका अनुसार बैंक स्टेटमेन्ट, गोदाम भण्डारण, आपूर्ति श्रृंखला र नगद प्रवाहको विश्लेषण गरिए कुनै फर्म या कम्पनीको वास्तविक कारोबार सजिलै पत्ता लाग्न सक्छ। तर, आन्तरिक राजस्व कार्यालय ठमेल मातहत दर्ता भएका यी फर्महरूको गतिविधि आफ्नै कार्यक्षेत्रभित्र हुँदाहुँदै पनि हालसम्म प्रभावकारी अनुगमन नभएको उनी बताउँछन् ।

यस सम्बन्धमा आन्तरिक राजस्व विभागले राजस्व छलि गर्ने जो–कोही भए पनि कानुनअनुसार कारबाही गरिने बताएको छ।
तर, काठमाडौँ उपत्यकाको मुख्य व्यापारिक क्षेत्रमै खुलेआम भइरहेको यस्तो गैरकानुनी काम कारबाहीमाथि राजश्व विभागले देखाएको मौनताले सरकारकै कार्यसम्पादनमाथि विभिन्न आशंका उब्जेको छ। वित्तीय क्षेत्रका महत्त्वपूर्ण विभागबाटै हुनुपर्ने नियमन कमजोर हुँदा राजस्व छलिका नयाँ मोडलहरू मौलाउँदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

यस सम्बन्धमा बुझ्न हामीले नेपालमा व्यवसाय गर्दै आएका भारतीय नागरिक पवनकुमार सर्राफलाई पटकपटक सोध्यौँ तर , उनले बिषयलाई अन्यत्र सारेर जवाफ दिन अस्वीकार गरे। उनका छोरा आशिष सर्राफले भने आफूहरू इम्पोर्टर नभएको, यहीँबाट सामान किनेर कारोबार गरिरहेको र कारोबार ठूलो नभएकाले प्यानमै दर्ता गरी काम गरिरहेको दाबी गरेका छन्।

प्रकाशित मिति : ९ पुष २०८२, बुधबार १८:४९   :  बजे

2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।