काठमाडौँ । नेपाल राष्ट्र बैंकले अतिरिक्त कर्जा नोक्सानी व्यवस्थापन (प्रोभिजन) गर्न निर्देशन दिएपछि प्राइम कमर्सियल बैंकको नाफा ह्वात्तै घटेको छ । आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्ने क्रममा राष्ट्र बैंकले बैंकलाई खराव कर्जावापत थप १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी प्रोभिजन गर्न निर्देशन दिएपछि बैँकको नाफा उल्लेख मात्रामा घटेको हो ।
बैंकले बाह्य लेखापरीक्षणअघि सार्वजनिक गरेको वित्तीय विवरणमा १ अर्ब ४१ करोड रुपैयाँ प्रोभिजन मात्र देखाएको थियो । तर राष्ट्र बैंकको समायोजनपछि प्रोभिजन रकम बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । खराव कर्जाको प्रोभिजन बढेपछि बैंकको खुद नाफा ४ अर्ब रुपैयाँबाट घटेर करिब ३ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ ।
नाफा घटेसँगै बैँकको वितरणयोग्य नाफामा पनि घटेको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड रुपैयाँबाट घटेर १ अर्ब ७३ करोड रुपैयाँमा झरेको छ। राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकको लेखापरीक्षणअघि र अन्तिम स्वीकृत वित्तीय विवरणबीच ठूलो अन्तर देखिनुले बैंकको कर्जा व्यवस्थापन र जोखिम मूल्याङ्कन प्रणालीप्रति गम्भीर प्रश्न उठेको छ ।
त्यसैगरी बैंकको निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा माथि पुगेको छ भने पुँजी पर्याप्तता अनुपात न्यून सीमाको आसपास छ। केहि समय यता केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा गुणस्तर र वास्तविक नाफा सुनिश्चित गर्न कडाइ गर्दै आएको छ ।


















प्रतिक्रिया