काठमाडौं । सरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज गरेको छ । निर्देशिका खारेज भएसँगै सबै म्यानपावर कम्पनीले श्रमिक पठाउन पाउने बाटो खुलेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २००९ मा ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा ‘जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत नेपाली श्रमिकहरूलाई जापानमा काम गर्न पठाउने व्यवस्था कायम थियो ।यो निर्देशिका खारेजीसँगै जिट्को संस्था पनि स्वतः खारेज भएको छ ।
निर्देशिकाले तोकेका निश्चित मेनपावर कम्पनीहरूलाई मात्र सूचीकृत गरेर उनीहरूकै माध्यमबाट श्रमिक पठाउने प्रावधान थियो । तर अब निर्देशिका खारेज भएपछि अन्य गन्तव्य मुलुकहरूझैं सबै मान्यता प्राप्त मेनपावर कम्पनीहरूले स्वतन्त्र रूपमा जापानमा श्रमिक पठाउन सक्नेछन् ।
हाल नेपालबाट ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम’ (टीआईटीपी) अन्तर्गत प्रशिक्षार्थी श्रमिकहरू जापान गइरहेका छन् । यो कार्यक्रम सञ्चालनका लागि पुरानो निर्देशिका आवश्यक नरहेको ठहर गर्दै मन्त्रालयले यसलाई खारेज गरेको जनाएको छ ।


















प्रतिक्रिया