काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो बुटवल क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले आफ्नो शाखा कार्यालय भैरहवा र मणिग्राम मार्फत समुदाय लक्षित सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको हो ।
यसअन्तर्गत भैरहवा शाखामार्फत लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमलाई तीन थान बेड तथा मणिग्राम शाखा मार्फत शान्ति नमुना माध्यमिक विद्यालयलाई जाडोयाम लक्षित न्यानो कपडा बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले हस्तान्तरण गरे ।
कार्यक्रमका अवसरमा बुटवल क्षेत्र प्रमुख आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ आश्रममा रहेका दृष्टिविहीन व्यक्तिहरूका लागि बेड तथा आर्थिक रूपमा कमजोर र दृष्टिविहीन बालबालिकाहरू अध्ययनरत विद्यालयमा न्यानो कपडा वितरणमा बैंक सहभागी हुन पाएकोमा अत्यन्तै खुशी व्यक्त गरे । सहयोग प्राप्त संस्थाहरूले बैंकद्वारा गरिएको यस मानवीय पहलप्रति खुशी व्यक्त गर्दै आभार प्रकट गरेका छन् । कार्यक्रममा सम्बन्धित संस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।




















प्रतिक्रिया