Logo

बैंकिङ

एनआईसी एशिया बैंकले ल्यायो लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल



काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका विभिन्न सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउन नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

बैंकका नाममा रहेका बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने उद्देश्यले यो पोर्टल सार्वजनिक गरिएको हो।

बैंकद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार, इच्छुक ग्राहकहरूले बैंकको आधिकारिक लिलाम सहायता पोर्टल मार्फत लिलाममा रहेका सम्पत्तिहरूको सम्पूर्ण विवरणहरू हेर्न सक्नेछन्।

यस पोर्टलमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो र नक्सा मात्र नभई उक्त सम्पत्ति रहेको स्थान (लोकेसन) पहिचान गर्नका लागि गुगल म्यापसहितको सुविधा समेत उपलब्ध गराइएको छ।

यस्तो व्यवस्थाले गर्दा ग्राहकहरूले घरमै बसेर आफूले चाहेको सम्पत्तिको बारेमा विस्तृत जानकारी लिन सक्ने बैंकले जनाएको छ।यसका साथै, पोर्टलमा ग्राहकहरूको सहजताका लागि सोधपुछको व्यवस्था समेत गरिएको छ।

कुनै पनि सम्पत्तिको बारेमा थप बुझ्न चाहने ग्राहकले पोर्टलमा रहेको मेसेज बक्समा आफ्नो नाम, ईमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखेर सिधै बैंकलाई सन्देश पठाउन सक्नेछन्।

बैंकले यस अनलाइन पोर्टलमा नियमित रूपमा लिलाम हुने नयाँ सम्पत्तिहरूको विवरण अपडेट गरिने जानकारी दिएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार २१:१७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।