काठमाडौं । हिमालयन बैंक मा नियामकीय निरीक्षणका क्रममा गम्भीर प्रकृतिका कैफियतहरू फेला परेपछि नेपाल राष्ट्र बैंकले कडा रूपमा सुधारात्मक कदम चाल्न निर्देशन दिएको छ।
राष्ट्र बैंकको सुपरीवेक्षण विभागद्वारा गरिएको विस्तृत अनुगमनमा आन्तरिक नियन्त्रण संयन्त्र, कर्जा स्वीकृति प्रक्रिया, जोखिम व्यवस्थापन ढाँचा तथा नियामकीय अनुपालनमा कमजोरी देखिएको राष्ट्र बैंक स्रोतले जनाएको छ।
प्रारम्भिक मूल्यांकनअनुसार आधा दर्जनभन्दा बढी बुँदामा कैफियत औंल्याउँदै तत्काल सुधार नगरे कारबाही प्रक्रिया अघि बढ्न सक्ने राष्ट्र बैंक स्रोतले जनाएको छ।
नियामक निकायले बैंक व्यवस्थापनलाई स्पष्ट समयसीमा तोकी सुधार कार्ययोजना, कार्यान्वयन तालिका, जिम्मेवार अधिकारीको विवरण तथा प्रगति प्रतिवेदन नियमित रूपमा पेश गर्न निर्देशन दिएको छ। स्रोतका अनुसार, यस पटक राष्ट्र बैंकले ‘औपचारिक सुझाव’ मात्र नभई ‘अनिवार्य सुधार’को ढाँचामा निर्देशन दिएको हो।
वित्तीय अनुशासन, पूँजी पर्याप्तता, जोखिम न्यूनीकरण र निक्षेपकर्ताको हित संरक्षणमा कुनै सम्झौता नगर्ने अडानसहित राष्ट्र बैंकले बैंकिङ क्षेत्रलाई कडाइका साथ निगरानीमा राखेको जनाएको छ। कमजोरी दोहोरिए कडा कारबाही हुने बताइएको छ।
बैंक व्यवस्थापनले भने नियामकसँग समन्वय गर्दै सुधार प्रक्रिया अघि बढाइने बताउएको छ। तर, वित्तीय क्षेत्रमा यस घटनालाई बैंकभित्रको व्यवस्थापकीय संयन्त्रप्रति गम्भीर प्रश्नका रूपमा हेरिएको छ।
राष्ट्र बैंकले आवश्यक परे थप स्थलगत निरीक्षण, विशेष अडिट वा निर्देशनात्मक कारबाही गर्न सक्ने संकेत दिएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थामाथि नियामकीय कडाइ बढ्दै गएको सन्दर्भमा यस घटनालाई महत्वपूर्ण ‘एक्सन’ का रूपमा लिइएको छ।




















प्रतिक्रिया