काठमाडाैँ । राष्ट्रिय पर्यवेक्षकहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन विगतको तुलनामा शान्तिपूर्ण, भयरहित र मर्यादित हुने निष्कर्ष निकालेका छन्।
निर्वाचन प्रचारप्रसारका क्रममा कुनैपनि ठुला झडप वा आचारसंहिताको गम्भीर उल्लङ्घन नभएको र उम्मेदवारहरू स्वयं अनुशासित देखिएकाले मतदान स्वच्छ र ऐतिहासिक हुने उनीहरूको विश्वास छ।
नेपाल कानून समाज र आम निर्वाचन पर्यवेक्षण समिति (जिओक)ले देशभरका निर्वाचन क्षेत्रहरुमा गरेको अनुगमन र अवलोकनपछि बोल्दै पर्यवेक्षकहरुले मतदाताहरू सचेत रहेको र निर्वाचन आयोगको तयारी सन्तोषजनक रहेको समेत उल्लेख गरेका छन्।
निर्वाचन पूर्वतयारी र प्रचारप्रसारको समग्र अवधिलाई सुक्ष्म रूपमा नियाल्दा राजनीतिक दल र उम्मेदवारहरूबिच कुनैपनि किसिमको भौतिक झडप वा गम्भीर विवाद नदेखिनुलाई पर्यवेक्षकहरूले सकारात्मक उपलब्धिका रूपमा लिएका छन्।
उम्मेदवारहरू स्वयंले उच्च राजनीतिक संस्कार र अनुशासन प्रदर्शन गरेको, निर्वाचन आचारसंहिताको पालनामा ‘पेपरलेस’ अभियानलाई प्राथमिकता दिएको र सानातिना प्राविधिक त्रुटिहरूलाई पनि डिजिटल माध्यम (ह्वाट्सएप) बाट प्राप्त जानकारीका आधारमा तत्कालै सच्याउने तत्परता देखाएको पाइएको पर्यवेक्षकहरुको भनाइ छ ।
लुम्बिनी प्रदेशको रुपन्देही लगायतका जिल्लाहरूमा गरिएको स्थलगत अवलोकनका क्रममा मतदाताहरूमा कुनैपनि किसिमको भय वा त्रास नदेखिएको र उनीहरू आफ्नो दैनिक दिनचर्याका साथै निर्वाचन प्रक्रियामा सचेततापूर्वक सहभागी भइरहेको देखिएको छ ।
आचारसंहिता उल्लङ्घनका सन्दर्भमा पनि कुनै गम्भीर लिखित उजुरी नदेखिएको उनको भनाइ छ । सामान्य कुराहरू ह्वाट्सएपमार्फत जानकारी गराउँदा उम्मेदवारहरूले आफैँ सुधार गरेको उनले उल्लेख गरे ।
बिहीबार हुने प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसारको शैली र उम्मेदवारहरूको अनुशासनले नेपाली लोकतन्त्र परिपक्व बन्दै गएको सङ्केत गरेको पर्यवेक्षकहरूको ठम्याइ छ ।
मौन अवधिको यो शान्त वातावरण मतदान नसकिँदासम्म कायम रहेमा यस पटकको निर्वाचन नेपालको इतिहासमै सबैभन्दा स्वच्छ र नमूना योग्य हुने विश्वास पर्यवेक्षकहरुले गरेका छन् ।




















प्रतिक्रिया