Logo

प्रमुख समाचार

प्रतिनिधिसभा निर्वाचन आज: यी कागजात देखाएर मतदान गर्न सकिने



काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ ।

मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो ।

यस निर्वाचनमार्फत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

उनीहरूका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

यसपटकको चुनावमा प्रत्यक्षतर्फ ६५ राजनीतिक दलबाट तीन हजार ४०६ उम्मेदवार (३,०१७ पुरुष, ३८८ महिला र १ अन्य) चुनावी मैदानमा छन् भने समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार (१,३६३ पुरुष र १,७७२ महिला) प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्रको सक्कलप्रति नभएका मतदातालाई मतदानबाट वञ्चित नहुने व्यवस्था गरेको छ ।
त्यस्ता मतदाताले परिचयपत्रको विकल्पमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कलप्रति देखाएर पनि मतदान गर्न सक्नेछन् ।
साथै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिइने आयोगले जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको छ । यसका लागि ७९ हजारभन्दा बढी नेपाली सेना, ७५ हजार नेपाल प्रहरी, ३४ हजार सशस्त्र प्रहरी, १ हजार ९०० भन्दा बढी राष्ट्रिय अनुसन्धानका अधिकारी र करिब डेढ लाख म्यादी प्रहरीसहितको सुरक्षा फौज परिचालन गरिएको छ । निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार ०६:२३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।