काठमाडौँ — सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्ट (सीडीडी) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले नेपालको परराष्ट्र नीति र आर्थिक कूटनीतिमा कमजोरी रहेको औंल्याएका छन्।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको असंलग्न नीति परिवर्तन भएको भन्ने हल्ला निराधार भएको बताउँदै संविधानअनुसार उक्त नीति यथावत् रहेको स्पष्ट पारे।
उनीहरूले आर्थिक कूटनीतिका प्रमुख क्षेत्र—पर्यटन, निर्यात, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), जलस्रोत, वैदेशिक रोजगारी र ऋण व्यवस्थापन—कुनैमा पनि अपेक्षित प्रगति हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। पर्यटन प्रवर्द्धनमा समेत समन्वय अभाव रहेको उनीहरूको भनाइ थियो।
विज्ञहरूले लगानी आकर्षणका लागि छिमेकी मुलुकहरूको अनुभवबाट सिक्नुपर्ने र स्पष्ट नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको बताए। परराष्ट्र नीतिको कार्यान्वयन सन्तुलित, गतिशील, निरन्तर र भविष्यमुखी हुनुपर्नेमा पनि जोड दिइयो।
कार्यक्रममा आर्थिक विकासलाई सार्वभौमसत्तासँग जोडेर हेर्नुपर्ने धारणा राख्दै एफडीआई भित्र्याउन नेपाल अझै पछाडि रहेको उल्लेख गरियो। नेपालको परराष्ट्र नीतिलाई प्रभावकारी बनाउन राजनीतिक इच्छाशक्ति र संस्थागत सुधार अपरिहार्य रहेको निष्कर्ष वक्ताहरूले निकाले।


















प्रतिक्रिया