सुर्खेत । कालोपत्रे गरिएसँगै हुल्म¬–मान्म सडक खण्डको स्वरुप बदलिएको छ । कर्णाली राजमार्गका अन्तर्गत पर्ने हुल्म–मान्म सडक खण्ड कालोपत्रे गरिएको छ ।
हुल्मदेखि मान्मसम्म १० किलोमिटरको उक्त खण्डको दुई खण्डको ६ किलोमिटरमा कालोपत्रे र बाँकी ठाउँमा मर्मत भइरहेको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार हुल्मदेखि कालिकोट जिल्ला अस्पताल र अस्पतालदेखि जिरोप्वाइन्टसम्म तीन खण्डमा ठेक्का सम्झौता भई कालोपत्रेको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर सौरभकुमार सिंहले जानकारी दिए ।
हुल्म–मान्म सडकको दुई खण्डमा नयाँ कालोपत्रे र एक खण्डमा मर्मतको काम भएको उनले बताए । हुल्मदेखि कालिकोट जिल्ला अस्पतालसम्मको खण्डको चार किलोमिटरमा डिएलएनसी–केवी जेभीले चार करोड र जिल्ला अस्पतालदेखि जिरो पोइन्टसम्मको दुई किलोमिटरमा भैरवमष्टो निर्माण सेवाले एक करोड २५ लाखमा सम्झौता गरी काम गरिरहेका छन् ।
यि दुवै खण्डको काम जेठ मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता गरिएको सिंहले बताए । ‘भैरव मष्टो निर्माण सेवाले भर्खर काम सुरु गरेको र डिएलएनसी–केवी जेभीले काम अन्तिम चरणमा पु¥याएको छ’ उनले भने, ‘यही खण्डको करिब तीन किलोमिटरमा आर्थिक बर्ष २०७९÷०८० मा कालोपत्र गर्ने ठेक्का पाएको सीएवी पुष्प जेभीले मर्मतको काम गरिरहेको छ ।’
चिसो मौषमका कारण रोकिएको कालोपत्रेको काम तत्काल सुरु गर्न र सम्झौता अवधीमै सम्पन्न गर्ने गरी काम गर्न ताकेता गरिएको उनले बताए ।
‘यो सडक खण्डमा काम गरिरहेका निर्माण कम्पनीलाई सम्झौता अनुसार नै काम सम्पन्न गर्ने गरी ताकेता गरिएको छ’ उनले भने, ‘अब मौषममा सुधार भएसंगै नयाँ काम पनि अगाडि बढाउन ताकेता गरेका छौ ।’
लामो समयदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्राको सामना गर्दै आएका स्थानीयवासीका लागि यो सडकखण्ड कालोपत्रे हुन थालेपछि दैनिक जीवन सहज हुने अपेक्षा बढेको छ ।
सदरमुकाम मान्म जोड्ने यस सडक खण्डमा कालोपत्रे गरिएसंगै सडकको स्वरुप पनि बदलिएको छ । कालोपत्रे सडकमा मान्म र हुल्मको यात्रामा पनि छिटो हुने स्थानीयको अपेक्षा छ ।
कालिकोटको जिल्ला सदरमुकाम भएकोले यो सडक भएर शुभकालिका, नरहरीनाथ, शान्नित्रिवेणी, पचलझरना र पलाता गाउँपालिका जाने एक मात्र रुट हो । त्यसको अलवा कर्णालीका अन्य जिल्लाबाट जुम्ला र मुगु जानेहरुका लागि पनि सहज हुने विश्वास गरिएको छ ।
वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण हुने सवारी आवागमनको समस्या पनि घट्दै जाने अपेक्षा स्थानीयले गरेका छन् । हुल्म–मान्म सडक कालोपत्रेले सदरमुकामसंगको दुरी छोट्याएको नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले बताए ।
बर्षामा सडक भत्किने समस्या समाधानका लागि पनि अहिले नै योजना बनाउन सके बर्षामा हुने सास्ती कम गर्न सकिने उनले बताए । सडक कालोपत्रे गरिएपछि कर्णाली पारिका पाँच स्थानीय तह र शुभ कालिका गाउँपालिकाबासीलाई आवागमन र उपचारका लागि अस्पताल जान पनि छोटो हुने शुभकालिका पालिका अध्यक्ष पुष्पराज आचार्यले बताए ।


















प्रतिक्रिया