Logo

विविध

आर्थिक गणना : बाजुरामा वास्तविक तथ्यांक संकलनमा जोड



बाजुरा । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने मूल नारासहित बाजुरामा बैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना हुने भएको छ ।

जिल्ला आर्थिक गणना कार्यालयका अनुसार, आर्थिक गणना लागि २० गणक र ३ जना सुपरीवेक्षक परिचालन गरिने भएका छन् ।

आर्थिक गणना कार्यालयका प्रमुख प्रकाश बिष्टका अनुसार,२०८२ मा दशैभर सञ्चालन हुने दोस्रो राष्ट्रिय आर्थिक गणनाको लागी बाजुरामा समेत आवश्यक तयारी अघि बढाइएको जानकारी दिए ।

जिल्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योग सहित विभिन्न प्रतिष्ठानको विस्तृत विवरण सङ्कलन उनको भनाइ छ ।

बाजुराका ९ वटै स्थानीय तहमा सञ्चालित ठूला तथा साना उद्योग,कलकारखाना,व्यापारीक प्रतिष्ठान,होटल,निर्माण कम्पनी र,बैंक तथा वित्तिय संस्था,सहकारी संस्था यातायात सेवा प्रदायक प्रतिष्ठान,सामाजिक संघसंस्था,राजनीतिक दल,लगायत सम्पूर्ण दर्ता गरिएका वा नगरिएका सबै संघसंस्था,प्रतिष्ठान,कृषि क्रियाकलाप सबैको गणना गरिने भएको छ ।

दर्ता नगरिएका कृषि क्षेत्रका क्रियाकलाप मुलतः घरायासी उपभोगमा सिमित रहने कृषि क्रियाकलाप,रोजगारीदाताका रुपमा घरायासी क्रियाकलाप,सार्वजनिक प्रशासन,रक्षा सेवा प्रदायक सरकारी निकाय,र अन्तर्राष्ट्रिय संस्थाको गणना भने गरिने छैन ।

बाजुरामा आर्थिक गणना २०७५ को तथ्याङ्कअनुसार जिल्लामा ३ हजार ८ सय ९१ प्रतिष्ठान संख्या रहेका छन् । जसमा १ हजार ५ सय ३० दर्ता नभएका छन् भने २ हजार ३ सय ६१ दर्ता नभएका छन् ।

पालिकागत विवरण अनुसार,सबैभन्दा बढि बडीमालिकामा ८ सय ३७ र सबैभन्दा कम स्वामिकार्तिकमा १ सय ८० प्रतिष्ठान छन् ।

त्यस्तै क्रमशः बुढिगंगामा ५ सय ३०, खप्तड छेडेदहमा ४ सय ९७ त्रिवेणीमा ३ सय ७५ हिमालीमा ३ सय ३८ जगन्नाथमा २ सय ७७ र गौमुलमा २ सय ६३ प्रतिष्ठान रहेका छन् ।

२०७५ मा बाजुरामा जनशक्ति ८ हजार ८ सय ५९ थिए । जसमा ५ हजार ९ सय ५ पुरुष र २ हजार ९ सय ५४ महिला थिए ।

यो आर्थिक गणनामा बाजुराको वास्तविक र अद्यावधिक आर्थिक अवस्था प्रष्ट हुने गरिने जिल्लाभर सहज र सरल तरिकाले गणना कार्य गरिने आर्थिक गणना कार्यालय बाजुराका सहायक आर्थिक गणना अधिकारी तिलक पालले जानकारी दिए ।

वास्तविक तथ्यांक संकलनमा जोड, सचेतना गोष्ठी सम्पन्न

राष्ट्रिय आर्थिक गणना सम्बन्धी जिल्ला स्तरीय सचेतना गोष्ठी कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लाको वास्तविक तथ्यांक संकलनमा जोड दिन आवश्यक रहेको बताए ।

बुधबार बाजुराको सदरमुकाम मार्तडीमा आयोजित जिल्ला स्तरिय सचेतना गोष्ठी कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले जिल्लाको वास्तविक तथ्यांक संकलनलाई मुख्य प्राथामिकतामा राखेका हुन् ।

उनले वास्तविक तथ्यांकले समग्र जिल्लाको विकासका साथै निति,निर्माणमा सहज पुर्याउने हुँदा वास्तविक तथ्यांक महत्त्वपूर्ण रहेको बताएका थिए। वास्तविक तथ्यांक संकलन गरि अद्यावधिक गर्न समेत आवश्यक रहेको कुरामा उनले जोड दिए ।

त्यस्तै सचेतना गोष्ठीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जहाँ आर्थिक क्रियाकलाप हुन्छ,त्यहाँ मात्रै आर्थिक गणना हुने बताएका हुन्। प्रत्येक टोलटोलमा गणक नपुग्न सक्ने बताउँदै आर्थिक क्रियाकलाप भएको ठाउँमा मात्रै विवरण संकलन गर्न आवश्यक रहेको बताए ।

साथै उनले जिल्लागत तथ्यांक संकलनलाई स्वच्छ,र पारदर्शिता बनाउन आवश्यक रहेको कुरामा जोड दिए। कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष देव वहादुर रोकायाले आर्थिक गणना संकलन कार्यमा सबैले जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

तथ्यांकको विश्वसनीयता नै मुख्य आधार भएकोले सहि तथ्यांक संकलनलाई प्राथामिकता दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले आर्थिक गणना समाज र देश निर्माणको आधार भएकोले यस अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। गलत तथ्यांकले गलत नै अर्थ दिने हुँदा सहि तथ्यांक विश्वसनिय हुने उनीहरुको भनाई थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १८:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।