Logo

मनोरञ्जन

निफको दोस्रो दिन : ‘शोले’ निर्देशक सिप्पी र महानायक हमालबीच भयो संवाद



काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को दोस्रो दिन शुक्रबार बलिउड फिल्म ‘शोले’ का निर्देशक रशेम सिप्पी र महानायक राजेश हमालबीच ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद कार्यक्रम सम्पन्न भएको छ ।

पर्यटन बोर्डको हलमा भएको यस कार्यक्रममा निर्देशक सिप्पीले फिल्म ‘शोले’का विषयमा खुलेर कुराकानी गरेका थिए ।

लेखकद्वय सलीम–जावेदले आफूलाई फिल्म ‘शोले’ निर्देशन गर्न दिनुका कारणबारे उनले सेयर गरे, ‘उनीहरूसँग एउटा सानो आइडिया थियो ।

त्यो आइडिया पहिले अरु कसैको लागि थियो । उनले यो मेरो प्रकारको फिल्म होइन भनेर गरेनन् । त्यसपछि उनीहरूले मलाई एक आर्मी अफिसर र दुई अपराधीहरूको कथा सुनाए ।

म भाग्यमानी थिएँ कि मसँग ती दुई अद्भुत लेखकहरू थिए र हामीले यस्तो स्क्रिप्ट तयार गर्न सक्यौं जसमा सबै तत्वहरू थिए ।’
महानायक हमालले फिल्मका सबै पात्रसहित घोडाकोसमेत नाम दर्शकलाई याद हुने गरी अद्भुत फिल्म ‘शोले’ निर्देशन गरेको भन्दै सिप्पीको प्रशंसा गरे ।

स्क्रिप्ट तयार भएको ६ महिनामा छायाङ्कन सुरु भएको सिप्पीले सुनाए । उनका अनुसार यो फिल्म एक करोड बजेटमा सक्ने योजनाका साथ १९७३ अक्टोबर २ छायाङ्कन सुरु भएको थियो ।

उनले थपे, ‘तर बन्दै जाँदा यो ३ करोड पुग्यो । मौसमका कारण एउटा दृश्य खिच्न मात्र २१ दिन लागेको थियो ।’

हमालले सिप्पीलाई ‘यो फिल्म असफल भएको भए के हुन्थ्यो ?’ भन्ने प्रश्न गरे । सिप्पीले भने, ‘म यहाँ (निफमा) हुँदैन थिएँ ।’
करिब १ घण्टा हमाल र सिप्पीबीच संवाद भएको थियो ।

त्यस्तै, आजबाट निफ अन्तर्गत रहेर ‘रसियन फिल्म डेज’ पनि सुरु भएको छ । फिल्म ‘अगस्ट’ प्रदर्शन गरी यस कार्यक्रमको सुरुवात गरिएको हो ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १९:४८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।