काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले बिहीबार संसद बैठकमा पार्टीका संसदीय दलका नेता रामबहादुर थापाद्वारा व्यक्त धारणापश्चात पार्टीभित्र केही प्राविधिक ‘अन्तरविरोध’ र ‘कन्फ्युजन’ देखिएकाले तिनलाई सचिवालय बैठकले चिरेको बताएका छन्।
बिहीबार च्यासलस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदीय दलका नेता रामबहादुर थापाको अभिव्यक्तिले पैदा गरेको तरंगका विषयमा स्पष्टीकरण दिएका हुन्।
संसद्को पहिलो बैठकमा थापाले दिएको मन्तव्यले जनमतलाई पूर्ण रूपमा स्वीकार नगरेको जस्तो भान परेको भन्दै उपमहासचिव भट्टले एमाले सधैँ जनताको मतको उच्च सम्मान गर्ने पार्टी भएको प्रष्ट पारे।
“केही जनमतलाई, जनताको मतलाई अलिकति नस्विकारेको जस्तो त्यहाँ देखिएको हुनाले जनताले दिएको मतलाई हामीले सम्मान गर्छौँ भनेर कन्फ्युजनलाई स्पष्ट पारेका हौँ,” उनले भने।
यस्तै, उपमहासचिव भट्टले राज्यका महत्वपूर्ण निकायहरू र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धबारे पनि पार्टीको अडान दोहोर्याए।
उनले नेपाली सेना, कर्मचारीतन्त्र (ब्यूरोक्रेसी) र अन्तर्राष्ट्रिय जगतसँग एमालेको सम्बन्ध विगतमा जस्तै सुमधुर र यथावत रहेको बताए। यी निकायहरूसँगको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास समेत उनले व्यक्त गरे।
सचिवालय बैठकले चुनावको संक्षिप्त समीक्षा गर्दै जनमतको कदर गर्ने र सरकारका विवादास्पद निर्णयहरूविरुद्ध उभिने निर्णय समेत गरेको छ।


















प्रतिक्रिया