रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा भिडियो सन्देश जारी गरेका छन् । मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनले निषेध र प्रतिशोधको राजनीति त्यागेर देशलाई केन्द्रमा राखी अघि बढ्न सबै पक्षलाई आह्वान गरेका हुन्।
पूर्वराजा शाहले देशमा विद्यमान असन्तुष्टि र मागहरूलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।
‘जनचाहनालाई मनन गर्दै संवैधानिक समाधान खोज्न अब विलम्ब गर्नु हुँदैन’, उनले भनेका छन्,‘परस्परको राग, द्वेष र प्रतिशोधले राष्ट्रलाई हित गर्दैन ।’
विगतका वर्षहरूमा भएका राजनीतिक र शासकीय फेरबदलप्रति टिप्पणी गर्दै उनले नेपाल केवल ‘प्रयोगशाला’ मात्र बनेको बताएका छन्।
विधि र व्यक्ति बदलिँदैमा समग्र स्थिति नसुध्रिएको उनको निष्कर्ष छ । उनले थपे, ‘हामी दलदलको खलबलमा धेरै दौडियौँ, तर राष्ट्रको श्रीवृद्धिमा निकै पछाडि प¥यौँ ।’
निराशाका बीच पूर्वराजाले एउटा सकारात्मक पक्षलाई भने उत्साहका साथ स्वागत गरेका छन् । राजनीति र राज्य सञ्चालनमा पढेलेखेका, प्रविधि बुझेका र आधुनिक सोच भएका युवाहरूको बढ्दो आकर्षणले राष्ट्रलाई फलदायी बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
नयाँ वर्षको शुभकामना दिँदै उनले अबको बाटो द्वन्द्व नभई एकता र साझा संकल्पको हुनुपर्ने सन्देश दिएका छन् ।


















प्रतिक्रिया